२०८३ वैशाख ३ , बिहीबार

ओलीलाई पुनः पार्टी अध्यक्ष बनाउनुपर्ने प्रेस चौतारीको धारणा



काठमाडौँ । नेकपा एमालेको पत्रकार संगठन प्रेस चौतारी नेपालले आगामी महाधिवेशनमा फेरि केपी शर्मा ओलीलाई नै सर्वसम्मत रूपमा पार्टी अध्यक्ष बनाइनुपर्ने धारणा सार्वजनिक गरेको छ। देशका चुनौती समाधान गर्न फेरि पनि पार्टी र देशमा ओलीकै नेतृत्व अपरिहार्य रहेको दाबी प्रेस चौतारीले गरेको छ।

शुक्रबार बसेको प्रेस चौतारीका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको आन्तरिक बैठकमा अध्यक्ष गणेश पाण्डेले समसामयिक राजनीतिक परिस्थितिमा ओलीको नेतृत्व नै राष्ट्रिय आवश्यकता भएको धारणा राखे । ‘ुअहिले पार्टीभित्र विवाद वा प्रतिस्पर्धा होइन, राष्ट्रिय आवश्यकता बुझेको सर्वसम्मत मान्यता आवश्यक छ’, उनले भने।

एमालेको आगामी महाधिवेशनलाई संगठन सुदृढीकरण, विचार-सिद्धान्त परिष्करण र राष्ट्रिय राजनीति स्थिरताकै दृष्टिले महत्त्वपूर्ण भएको उल्लेख गर्दै पाण्डेले प्रेस चौतारीका सबै संरचनालाई आन्तरिक एकता र अनुशासनको आधारमा अघि बढ्न निर्देशन दिए। भदौ २३ र २४ गते भएको आन्दोलनलाई ‘प्रतिक्रान्ति’ भन्दै त्यसले मुलुकलाई अस्थिरतामा धकेल्ने प्रयास गरेको आरोप लगाए।

बैठकमा संगठनका निवर्तमान अध्यक्ष गणेश बस्नेतले पनि एमालेको नेतृत्वमा ओलीको विकल्प नरहेको जिकिर गरे। उनले केपी ओली र एमालेलाई जनताले विश्वास गरेर दिएको समर्थन तथा नेतृत्व क्षमताका कारण नै विभिन्न कोणबाट आक्रमण हुने भएको दाबी गरे। बैठकमा संगठनका महासचिव हिरामान लामाले संगठनमा बसेपछि अनुशासित भएर काम गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २०८२ कात्तिक २८ गते शुक्रबार