डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा उपमेयर कार्यक्रम अन्तर्गत कक्षा १ देखि ३ मा अध्ययनरत बालबालिकालाई झोला वितरण गरिएको छ। नगरपालिकाका ११ वटै वडामा रहेको २९ सामुदायिक विद्यालयका एक हजार १३ बालबालिकालाई पढाइका सामग्री बाकसरी लैजान सहज होस भन्ने उद्देश्यले झोला प्रदान गरिएको हो।
त्रिपुरासुन्दरी नगरपालिकाकी उपप्रमुख देवी घर्तीका अनुसार उपमेयर कार्यक्रम अन्तर्गत करिब २५ लाख रुपैयाँ विनियोजन गरिएको छ। सो रकमबाट विद्यालयका छात्रछात्रालाई झोला वितरण गर्नुका साथै वडा नं ११ मा करिब ५ लाखमा एक मन्दिर निर्माण गरिएको पनि उनले बताइन्। आगामी दिनमा विद्यार्थी, जेष्ठ नागरिकलगायतका विभिन्न लक्षित समूहका लागि थप कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उपप्रमुख घर्तीले जानकारी दिइन्।
उनका अनुसार नगरपालिकाभित्र कक्षा १ देखि ३ सम्मका सबै बालबालिकालाई समान रूपमा झोला वितरण गरिएको छ। झोला वितरणले आधारभूत तहका विद्यार्थीलाई विद्यालयमा नियमित उपस्थित गराउन उनीहरुको उत्साह बढ्ने र भर्ना अभियानलाई समेत टेवा पुग्ने विश्वास लिइएको उपप्रमुख घर्तीको भनाइ छ।
शुक्रबार उपमेयर घर्तीले वडा नं। १० मा रहेको जनप्रभा साधारण तथा प्राविधिक माध्यमिक विद्यालय, लिकुमा कक्षा १–३ मा अध्ययनरत विद्यार्थीलाई झोला हस्तान्तरण गरिन्। झोला वितरणपछि उनले विद्यालयको भौतिक संरचनाको समेत अवलोकन गरेकी थिइन्। जनप्रभा माविमा कक्षा १ देखि १२ सम्म गरी ५७२ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

