२०८३ वैशाख ३ , बिहीबार

हुलाक निर्देशनालय सुर्खेतद्वारा कर्णालीका चार जिल्लामा स्थलगत अनुगमन



सुर्खेत । कर्णाली प्रदेशमा हुलाक सेवालाई छिटो, छरितो, भरपर्दो र व्यवस्थित रूपले सञ्चालन गर्न हुलाक निर्देशनालय सुर्खेतले भेरी करिडोरअन्तर्गतका जाजरकोट, डोल्पा, रुकुम पश्चिम र सल्यान जिल्लामा रहेका हुलाक कार्यालयहरू तथा स्थानीय तहका हुलाक कार्यालयहरूको व्यापक अनुगमन तथा निरीक्षण सम्पन्न गरेको छ।

अनुगमनका क्रममा जाजरकोट जिल्ला हुलाक कार्यालय, नलगाड नगरपालिका, दल्ली, सटही काउन्टर, शिवालय गाउँपालिका–छेडागाड लगायतका कार्यालयहरूको स्थलगत निरीक्षण गरिएको थियो। भूकम्पबाट क्षतिग्रस्त भई पुनर्निर्माण प्रक्रियामा रहेको जिल्ला हुलाक कार्यालय जाजरकोटको भवनसमेत अनुगमन गरिएको थियो।

सो अवसरमा सञ्चारकर्मीहरूसँग छोटो अन्तरक्रिया पनि भएको थियो। डोल्पा जिल्लामा जिल्ला हुलाक कार्यालय डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका हुलाक कार्यालय, रुकुम पश्चिममा जिल्ला हुलाक कार्यालय तथा आठबीसकोट नगरपालिका राडी, सानीभेरी गाउँपालिका–सिम्ली, चौरजहारी नगरपालिका लगायत हुलाक कार्यालयहरूको सेवा प्रवाह, भौतिक संरचना, डाँकरेखा र जनशक्तिसम्बन्धी अवस्थाको समीक्षा गरिएको थियो।

यसैगरी सल्यानमा जिल्ला हुलाक कार्यालय सल्यान, वनगाडकुपिण्डे नगरपालिका–देवस्थल (सल्लीबजार), कुमाख गाउँपालिका–रागेचौर, सिद्धकुमाख गाउँपालिका–ढौरचौर, बागचौर नगरपालिका हुलाक कार्यालयलगायत स्थानहरूमा अनुगमन तथा निरीक्षण गरिएको छ। साथै रुकुमपूर्वको रुकुमकोटमा डाँक आदान–प्रदानका विषयमा समन्वय बैठक तथा अन्तरक्रिया पनि गरिएको थियो।

अनुगमनका क्रममा हुलाक सेवाको ऐतिहासिक पृष्ठभूमिलाई जोगाउँदै आधुनिक सूचना प्रविधिलाई सेवा प्रवाहमा प्रभावकारी रूपमा समावेश गर्ने पूर्वाधार, जनशक्ति व्यवस्थापन, भौतिक स्रोतसाधन, जनगुनासो, सरकारी तथा गैरसरकारी निकायसँगको समन्वय, डाँक ढुवानी व्यवस्थापनलगायत विषयमा विस्तृत चेकजाँच गरिएको थियो। प्राप्त सुझाव र निष्कर्षको आधारमा सम्बन्धित कार्यालयहरूलाई हुलाक सेवालाई अझ विश्वासिलो, जनमुखी र प्रभावकारी बनाउन निर्देशन दिइएको छ।

हुलाकप्रतिको जनविश्वास बढाउने, नागरिकसँग नजिक हुने, डाँक ढुवानीलाई व्यवस्थित गर्ने तथा सेवाको प्रचार–प्रसारमार्फत जनचेतना विस्तार गर्न विशेष जोड दिइएको अनुगमन टोलीमा हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डे, अनुगमन शाखा प्रमुख नारायणप्रसाद तिमिल्सेना सहित कर्मचारीहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २०८२ मंसिर ३ गते बुधबार