२०८३ वैशाख ५ , शनिबार

कँडेललाई मुख्यमन्त्री बनाउन एमाले सुर्खेतको बालकोटमा “डेलिगेशन”

कर्णाली सरकार बनाउन प्रदेश प्रमुखले दिए पुस २७ को समयसीमा


कर्णाली प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेश सरकार गठनका लागि २७ पुससम्मको समय दिएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्न आव्हान गरिएको हो ।

प्रदेश प्रमुखले सरकार गठनका लागि आव्हान गरेपछि गठवन्धनमा रहेका प्रमुख दल नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रबीच आन्तरिक छलफल सुरु भएको छ । प्रदेश प्रमुख परियारले प्रदेशसभामा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत जुटाएर दाबी पेस गर्न आह्वान गरेका हुन् ।

कर्णालीमा गठबन्धन दल एमाले र माओवादी केन्द्रबीच सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा दुवै पक्षबाट दाबी भैरहेकोले अन्योलको स्थिति सिर्जना भएको छ। कर्णालीमा सकृय दलहरुबीच सहमति जुट्न नसक्दा सरकारको नेतृत्व कसले गर्ने विषय बालुवाटार र बालकोट प्रवेश गरेको छ । सरकारको नेतृत्वका विषयमा आफ्ना फरक–फरक दाबी पेस गर्दै एमाले नेताहरूले अध्यक्ष केपी शर्मा ओली र माओवादी नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगलाई भेटघाट गरिरहेका छन् ।

केही दिन अघि प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कर्णालीका माओवादी नेताहरूले भेट गरेका थिए। भेटका अबसरमा उनीहरूले कर्णाली माओवादीको आधार ईलाका भएकोले एमालेलाई नेतृत्व छोड्न नहुनेमा खबर्दारी गरेका थिए । बिहीबार भने कर्णालीका एमाले नेताहरू यामलाल कँडेललाई मुख्यमन्त्री बनाउनुपर्ने माग राख्दै अध्यक्ष ओलीलाई भेट्न बालकोटस्थित ओलीनिवास पुगेका छन् । सत्ता गठबन्धन दलबीच भागवण्डा हुँदा कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेले लिनुपर्ने र कँडेललाई मुख्यमन्त्री बनाउनुपर्ने मागसहित नेताहरू ओलीनिवास पुगेका थिए ।

अध्यक्ष ओलीलाई कर्णाली प्रदेशको नेतृत्व नछोड्न दबाब दिन एमाले सुर्खेत जिल्ला कमिटीका नेताहरू ओलीनिवास बालकोट पुगेका हुन् । बालकोट पुगेका नेताहरूलाई अध्यक्ष ओलीले कर्णालीमा एमालेकै नेतृत्वमा सरकार बन्ने गरी गठबन्धनमा भागवण्डा गरिने भएकोले विश्वस्त रहन आग्रह गरेका छन् । नेकपा एमाले सुर्खेतका उपसचिव घनश्याम पाण्डेले अध्यक्ष ओलिले कर्णाली प्रदेशमा एमालेको नेतृत्वमा सरकार बनाउन कोसिस गर्ने आश्वासन दिएको प्रतिकृया दिए । उनले अध्यक्षसंग विगत निर्वाचनदेखि अहिलेसम्मको अवस्था र पार्टीले सुर्खेतमा खेलेको भूमिकाको वारेमा जानकारी गराएको बताए ।

देशीविदेशी प्रतिकृयावादीहरुले एमालेविरुद्ध गरेको घेराबन्दी तोड्न र नयाँ गठवन्धन बनाउन एमाले वाध्य भएको भनेर ओलिले भनेको उपसचिव पाण्डेको भनाइ थियो । पाण्डेले कर्णाली प्रदेशमा सरकार बनाउन अध्यक्षले विशेष पहल गर्नेसमेत बताएको उल्लेख गरे। प्रदेश सरकार भागबन्डासम्बन्धमा भोलीसम्ममा टुङ्गो लाग्ने अवस्था रहेको पाण्डेले जानकारी दिए ।
भेटमा अध्यक्ष ओलिले सरकार गठनकाबारेमा यमलाल कँडेललगायत कर्णाली प्रदेशका एमाले केन्द्रीय र प्रदेश कमिटी तहका नेताहरूसंग आफुले छलफल गरिसकेकोसमेत जानकारी दिए ।

प्रकाशित मिति : २०७९ पुस २१ गते बिहीबार