समाचार सारांश
- जाजरकोटको शिवालय गाउँपालिकामा खाद्यान्न आपूर्तिलाई सहज बनाउन ऐरेली बजारमा खाद्य डिपो सञ्चालनमा ल्याइएको छ ।
- डिपोबाट अब शिवालयका ९ वटै वडाका बासिन्दाले गाउँमै चामललगायत खाद्य सामग्री किन्न सक्ने भएका छन् ।
- अहिले डिपोमा २५ केजीका ४०० बोरा चामल उपलब्ध छन् ।
जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा खाद्यान्न आपूर्तिलाई सहज, सुलभ र व्यवस्थित बनाउने उद्देश्यले खाद्य डिपो सञ्चालनमा ल्याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सहकार्यमा गाउँपालिकाले शिवालय–३ स्थित ऐरेली बजारमा औपचारिक रूपमा खाद्य डिपो स्थापना गरेको हो ।
गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाहीका अनुसार डिपो सञ्चालनमा आएपछि शिवालयका ९ वटै वडाका सर्वसाधारणलाई खाद्यान्न खरिदमा ठूलो सहजता पुग्ने छ । उनले भने, ‘पहिले स्थानीयहरु यहाँकै पसलहरुमा मंहगोमा चालम किन्नुहुन्थ्यो । अब यहाँ डिपो सञ्चालन भइसकेको छ सस्तोमा चामल पाउनुहुन्छ ।’ डिपोमा हाल २५ केजीका चार सय बोरा चामल उपलब्ध रहेका छन् ।
अध्यक्ष शाहीले स्थानीयको मागअनुसार चामलसँगै अन्य आवश्यक खाद्य सामग्री पनि उपलब्ध गराइने बताए । माग र आवश्यकताअनुसार क्रमशः डिपोमा वस्तुको मात्रासमेत थप गर्दै लैजाने योजना गाउँपालिकाले अघि सारेको उनको भनाइ छ । उनले बाहिर पसल भन्दा डिपोमा करिब ५ देखि ७ प्रतिशत बढी सस्तोमा चामल पाइने बताए ।