समाचार सारांश
- राष्ट्रिय युवा संघ नेपाल (एमाले निकट) ले मंसिर ९ गते वीरेन्द्रनगरमा ‘युवा जागरण अभियान’ आयोजना गर्न लागेको छ।
- कर्णालीका १० जिल्लाबाट ४० वर्षमुनिका करिब २ हजार भन्दा बढी युवाको सहभागिता रहने छ ।
- कार्यक्रम कुनै समूह लक्षित नभएको र शान्तिपूर्ण रूपमा सञ्चालन हुने आयोजनकर्ताहरूले दाबी गरेका छन् ।
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी एमाले निकट राष्ट्रिय युवा संघ नेपालले मंसिर ९ गते वीरेन्द्रनगरमा ‘युवा जागरण अभियान’ गर्ने तयारी गरेको छ । नेकपा एमाले सुर्खेतको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दे युवा संघ प्रदेश इन्चार्ज पञ्चमी रेग्मीले सो कुराको जानकारी दिएकी हुन् ।
‘हामीले अहिले आगामी मंसिर नौ गते वीरेन्द्रनगरमा युवा जागरण सभा आयोजना गर्ने निर्णय गरेका छौँ । उक्त सभामा कर्णालीका दुई हजार बढी युवाको सहभागिता रहनेछ ।’ रेग्मीले भनिन, ‘यो प्रर्दशन कोही लक्षित छैन । नेताहरु को बोलाउने भन्ने बारेमा हामी केही दिनमा नै जानकारी दिनेछौँ ।’ उनले ४० वर्ष भन्दा मुनीका दशै जिल्लाका युवाहरुको सहभागिता रहने जानकारी दिए ।
युवा संघका अध्यक्ष जीवन शाहीले आफूहरुको प्रर्दशन कुनैपनि समूह लक्षित नभएको बताए । ‘हामी कोहीसँग मुठभेड गर्दैनौँ । कसैसँग झगडा गर्न हामी यो कार्यक्रम आयोजना गर्न लागेका होईनौँ ।’ अध्यक्ष शाहीले भने, ‘लोकतन्त्रमा शान्तिपूर्ण रुपमा कार्यक्रम आयोजना गर्न पाइन्छ, सोही अनुसार हामी कार्यक्रम गर्न गइरहेका छौँ ।,’
पत्रकार सम्मेलनमा एमाले कर्णाली प्रदेश कमिटि सदस्य मानव बमले उक्त दिन युवा स्वयंसेवक बल गठन गर्न सकिने बताए । यस्तै पत्रकार सम्मेलनमा एमाले सुर्खेत उपाध्यक्ष मोहनसिंह बडुवालले एमाले सुर्खेतले युवा संघको कार्यक्रम सफल पार्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।