२०८३ वैशाख ३ , बिहीबार

नवज्योति स्कुलमा ह्विलचियर बास्केटबल खेल प्रदर्शन



सुर्खेत । सेभ द चिल्ड्रेनको ‘सिफ्ट’ अभियान अन्तर्गत ‘पांग्राको उडान’ कार्यक्रम वीरेन्द्रनगरमा जारी छ। अभियानअन्तर्गत स्पाइनल इञ्जुरी संघ सुर्खेतले सोमबार वीरेन्द्रनगरस्थित नवज्योति स्कुलमा मैत्रीपूर्ण ह्विलचियर बास्केटबल खेल आयोजना गरेको हो।

स्पाइनल इञ्जुरी भई अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण र विद्यालयस्तरमै उनीहरूको क्षमताबारे सकारात्मक धारणा निर्माण गर्न संघले वीरेन्द्रनगरका विभिन्न विद्यालयहरूमा निरन्तर ह्विलचियर बास्केटबल खेल प्रदर्शन गर्दै आएको छ। कार्यक्रममा स्पाइनल इञ्जुरी संघमा आवद्ध र अन्य खेलाडीहरूले मैत्रीपूर्ण ह्विलचियर बास्केटबल खेल प्रदर्शन गरेका थिए।

खेलपछि संघका अध्यक्ष तथा बास्केटबल खेलाडी मदन कार्की र संघका कोषाध्यक्ष विष्णुकुमारी शाहीले ह्विलचियर बास्केटबलमार्फत आफ्नो जीवनमा आएका सकारात्मक परिवर्तनबारे विद्यार्थीहरूलाई अनुभव सुनाए। नवज्योति स्कुलकी प्रिन्सिपल सिस्टर सुसनले कार्यक्रमका आयोजकप्रति धन्यवाद व्यक्त गर्दै यसले विद्यार्थीहरूमा सकारात्मक ऊर्जा र प्रेरणा थपेको बताइन्।

प्रकाशित मिति : २०८२ मंसिर ७ गते आइतबार