सल्यान । दार्मा गाउँपालिकाले स्थानीय युवालाई उत्पादन, उद्यम, सीप विकास तथा रोजगारमूलक कार्यक्रममार्फत आत्मनिर्भर बनाउन विशेष प्राथमिकता दिएको छ। गाउँपालिका अध्यक्ष निमबहादुर केसीका अनुसार दुध, खसीपालन, अदुवा, बेसारलगायत उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै युवालाई कृषि तथा पशुपालन व्यवसायमा आकर्षित गरिएको छ। अध्यक्ष केसीले पालिकाले सउल उद्योग, दुना–टपरी उद्योग, डेरी उद्योग, हाउस–वायरिङ, प्लम्बिङ र कम्प्युटर तालिमजस्ता सीपमूलक कार्यक्रम निरन्तर प्रदान गर्दै आएको बताए।
उनका अनुसार यस्ता कार्यक्रमले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेका बताए । गाउँपालिकाले विकास निर्माणका परियोजना, करार सेवामा अवसर सिर्जना तथा लोकसेवा तयारी कक्षा सञ्चालनमार्फत युवालाई रोजगारी तथा प्रतिस्पर्धात्मक क्षमतामा सबल बनाइरहेको छ। साथै विदेश जाने युवाका लागि सीप र व्यवसायमूलक तालिम सञ्चालन गरिनुका साथै विदेशबाट फर्किएका युवालाई व्यवसाय केन्द्रित योजनाको माध्यमबाट पुनःस्थापना गर्न सहयोग गरिएको अध्यक्ष केसीले बताए। दार्माबाट वैदेशिक रोजगारीमा जानेको संख्या करिब २० प्रतिशतमा झरेको जानकारी उनले दिए।
यो कमी स्वतः रोजगारी सिर्जना भएको प्रमाण भएको समेत उनको भनाइ छ। गाउँपालिकाले खानेपानी, सिंचाइ, दुग्ध विकास, विद्युतिकरण, सडक स्तरोन्नति, पूर्ण सरसफाइ तथा पोषणमैत्री पालिका अभियानलाई प्राथमिकताका साथ अघि बढाइरहेको अध्यक्ष केसीले जानकारी दिए। उनका अनुसार समग्रमा दार्मा गाउँपालिका उत्पादनमुखी, आत्मनिर्भर र सीप–आधारित आर्थिक विकासतर्फ अघि बढिरहेको छ।