
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले कर्णाली प्रदेश प्रहरी कार्यालय, प्रदेश प्रहरी गण र जिल्ला प्रहरी कार्यालयको अनुगमन तथा निरिक्षण गरेका छन् ।
मन्त्री जिसीले प्रदेश प्रहरीका काम कार्बाही र अवस्थाका बारेमा शुक्रबार जानकारी लिदै आवश्यक पर्ने भौतिक संरचना, संगठन संरचना र प्रविधि तथा आवश्यक जनशक्तिका बारेमा चासो लिएका थिए । उनले प्रदेश सरकारले प्रहरीसंग हातेमालो गर्दैै अघि बढ्ने प्रतिवद्धता जनाए ।
मन्त्री जिसीले प्रहरी संरचना संघ सरकारको मातहतमा रहदा प्रदेश सरकारले खासै वास्ता नगरेको जस्तो देखिएपनि प्रहरीले प्रदेशमै काम गरिरहेको र भविष्यमा पनि प्रहरी प्रदेश सरकारकै एक हिस्सा हुने भएकाले हरेक हिसाबले प्रहरीलाई सशक्त पार्नुपर्नेमा जोड दिए । उनले प्रहरीको लागि आवश्यक पूर्वाधार र प्रविधिका लागि बजेटको व्यवस्था गर्न पहल गर्ने जनाए ।
बजेट अपुग भएपनि प्रहरीले गरिरहेको कामको प्रसंशा गर्दै उनीहरूका लागि आवश्यक संरचना निर्माण गर्न र ट्राफिक लगायत विपदका सामाग्रीका लागि आवश्यक बजेटको पहल गर्न लागि पर्ने प्रतिबद्धता जनाए ।
उनले विपद र अपराध अनुसन्धानमा प्रहरी नै अग्र भागमा काम गर्ने भएकाले प्रहरीको समन्वयमा प्रदेशमा कम्तिमा दुईवटा कार्यान्वयन इकाई आवश्यक्ता देखिएको उनको भनाई छ ।
मन्त्री जिसीले हाल लुुम्बनी प्रदेशको नेपालगञ्जमा रहेका कर्णाली प्रदेश प्रहरी तालीम केन्द्र, कर्णाली प्रदेश संघिय प्रहरी इकाई कार्यालय र कर्णाली प्रदेश विशेष प्रहरी सुरक्षा गण कर्णाली प्रदेशमा स्थानान्तर गर्नका लागि आवश्यक ठाँउको खोजी गरी काम अघि बढाउन पहल गर्ने बताए ।
कर्णाली प्रदेश प्रमुख भिमबहादुर ढकालले मन्त्री जिसीलाई प्रदेश प्रहरीले गरिरहेका काम कार्बाही र अवस्थाको जानकारी दिएका थिए । प्रदेश प्रहरीको अभिभावक भनेकै प्रदेश सरकार भएकाले प्रदेश सरकारले प्रहरीलाई सशक्त बनाउन पहल गर्नेमा आशा व्यक्त गरे ।