
रुकुम पश्चिम । प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लाई आफ्नै गृह जिल्ला रुकुम पश्चिममा कालो झन्डा देखाएर विरोध गरिएको छ। नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ताले आज (आइतवार) बिहान मुसिकोट नगरपालिका–१ सल्लेमा कालोझन्डा देखाउँदै शर्मा बिरुद्ध नाराबाजी गरेका हुन् ।
आइतवार बिहान मुसिकोट नगरपालिका–१ सल्ले विमानस्थल बाहिर नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ताले उनीविरुद्ध नाराबाजी गर्दा शर्माले नेपाल एयरलाइन्सको जहाजमार्फत काठमाडौंबाट सल्लेमा अवतरण गरेका थिए। प्रचण्ड नेतृत्वमै गठन भएको नयाँ ‘नेपाली कम्युनिष्ट पार्टी’सँगको एकताप्रति असन्तुष्टि जनाउँदै अलग्गै प्रगतिशिल लोकतान्त्रिक पार्टी गठन गरेका शर्मा नयाँ पार्टी बनाएपछि पहिलो पटक गृह जिल्ला पुगेका हुन्।
सो क्रममै झण्डै एक दर्जन कार्यकर्ताले जनार्दन शर्मा मुर्दावाद, जनतालाई धोका दिने नेता मुर्दावाद, दक्षिणपन्थी अवसरवादी मुर्दावाद लगायतका नारा लगाउँदै कालो झन्डा प्रदर्शन गरेका थिए। शर्मा भने पार्टी कार्यालय उद्घाटन तथा युवा भेलालगायतका कार्यक्रममा सहभागी हुन रुकुम पश्चिम पुगेका हुन्।