
नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले सुदूरपश्चिम प्रदेशमा एमाले फेरि सत्तामा फर्कने बताएका छन् । प्राविधिक रुपमा सत्ताबाहिर जानु परेपनि अहिलेको सरकार पनि धेरै नटिक्ने नेम्वाङले ठोकुवा गरे ।
मिसन ग्रास्टरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत नेकपा एमाले कर्णाली प्रदेश संगठन कमिटीद्वारा सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमको वर्तमान सरकारलाई पनि नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने दाबी गरे ।
‘सुदूरपश्चिममा प्राविधिक समस्याले मात्रै सरकार बाहिर हुन पुग्यौं’ उनले भने, ‘अहिलेको सुदूरपश्चिम सरकार पनि धेरै टिक्नेवाला छैन । किनभने नागरिक उन्मुक्ति पार्टीको माग एउटै छ ।’
उनले वर्तमान सत्तागठबन्धन कुनै हालतमा पनि नटुट्ने बताए ।
‘संविधानको धारामा टेकेर बनेको सरकार हो । त्यसैले ढल्ने कुरा कुनै हालतमा सम्भव छैन’ उनले भने, ‘संविधान अनुसार अगाडि बढेको र निरन्तर अगाडि बढ्छौँ । हामी सिंहदरबारको मूल ढोकाबाट संविधान र कानूनी संसदीय मूल्य मान्यतामा टिकेर सरकार बनेको छ ।’