
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिने तर समयमा काम नगरेर आयोजना अलपत्र पार्ने रुग्ण आयोजनाका ठेक्का प्रक्रिया मिलाएर तोड्न भौतिक मन्त्रालयलाई निर्देशन दिएका छन् । भौतिक योजना तथा शहरी विकास मन्त्रालयको अर्ध वार्षिक कार्यक्रममा मुख्यमन्त्री कँडेलले जतिसुकै पहुँच र शक्ति भए पनि समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोड्न निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री कँडेलले सरकारले आवश्यक बजेट छुट्टाउने तर समयमा आयोजनाको काम सम्पन्न नगरेर अलपत्र पार्दा त्यसले सरकारप्रति नै नागरिकको अविश्वास पैदा हुने बताए । उनले भने, ‘पैसा छ, काम भइरहेको छैन र योजनालाई अलपत्र छाड्छ भने त्यस्ता निर्माण व्यवसायीप्रति हामी कुनै लचिलो हुनुपर्ने जरुरी छैन ।’ मुख्यमन्त्री कँडेलले सकेसम्म निर्माण व्यवसायीलाई सहजीकरण गरेर आयोजना सम्पन्न गर्ने दायित्व तिर लाग्न र सहजीकरणले समेत परिणाम नदेखिए नियमसंगत रूपमा ठेक्का अन्त्य गर्न मन्त्रालयलाई निर्देशन दिए ।
मुख्यमन्त्री कँडेलले प्रदेश राजधानी अन्त्रगतका सडक निर्माणमा लापरबाही गर्दा पूर्व मन्त्रीको समेत ठेक्का तोडिएको बताउँदै ठेक्का तोड्दा तोडिएका ती आयोजनाहरूलाई पुनः सञ्चालन गर्न आवश्यक तयारी समेत गर्न निर्देशन दिए । ‘समयमा काम सम्पन्न नगरेपछि हामी बहालवाला सांसद र मन्त्रीसमेत सङ्लन भएको ठेक्का तोडेका छौँ,’ उनले भने, ‘पावरबाट नडराउनुहोस्, सरकार त्यसको जिम्मा लिन्छ।,’ मुख्यमन्त्री कँडेलले काम सम्पन्न गरिसकेपछि भुक्तानीमा ढिलाइ नगर्न पनि मन्त्रालयलाई निर्देशन दिए ।
उनले भने, ‘निर्माण व्यवसायीले काम गरेको छ भने बहाना नबनाउनुस्, बोलाएर भए पनि भुक्तानी दिनुस्।,’ समीक्षा कार्यक्रममा मुख्यमन्त्री कँडेलले पुरानै मानसिकताले नागरिकले खोजे जस्तो परिणाम दिन सम्भव नभएकोले सबैले कार्यशैली समेत बदल्नुपर्ने बताए । नागरिकको अपेक्षा र राज्य संयन्त्रका कार्यशैलीबिच निकै खाडल रहेकोले परम्परागत कार्यशैलीले परिणाम सम्भव नहुने मुख्यमन्त्री कँडेलको धारणा थियो ।
मुख्यमन्त्री कँडेलले नागरिकले रिजल्ट खोजिरहेको र नागरिकले खोजे जस्तै रिजल्ट दिने विषयमा पुरानै कार्यशैलीले सम्भव नहुने बताए । उनले भने, हाम्रा र तपाइका आफ्ना कुरा होलान् तर अव पनि पुरानै मानसिकताले काम गर्नु भयो भने रिजल्ट सम्भव छैन । बजेट र कार्यक्रम बनाउँदा राजनीतिक नेतृत्वको भूमिका रहने भए पनि त्यसको कार्यान्वयनको प्रमुख जिम्मेवारी कर्मतन्त्रको हुने भएकोले कर्मचारीले कार्यकारी भूमिकामा रहेर काम गर्नुपर्ने मुख्यमन्त्री कँडेलको भनाइ थियो । उनले नेता रिसाइहाल्छन् कि भनेर नहुने काम बोकेर नहिँड्न पनि कर्मचारीहरूलाई निर्देशन दिए ।
उनले भने, ‘हुने र नियमसँगत काम रोक्न पाउनुहुन्न तर नहुने काममा नेताको मन राख्नेतिर नलाग्नुस् ।,’ कार्यक्रममा मन्त्रालयका सचिव अर्जुन बमले पछिल्ला ३ वर्ष भन्दा अघिका केही आयोजनाहरू रुघ्न रहेकोले त्यसबारे समयमा निर्णय लिनुपर्ने बताए । उनले चालु आवमा करिब ८२ प्रतिशत खरिद प्रक्रियामा गइसकेको र केही बहुवर्षीय आयोजना स्वीकृतिको चरणमा रहेको माघ मसान्तसम्म सबै आयोजना ठेक्का प्रक्रियामा गइसक्ने बताए ।