२०८३ वैशाख ८ , मंगलबार

जाजरकोटमा कुनै उम्मेदवारविरुद्ध परेन उजुरी, सबै उम्मेदवारको मनोनयन कायम



जाजरकोट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जाजरकोटमा कुनै उम्मेदवारविरुद्ध कुनै पनि उजुरी परेको छैन । उम्मेदवारको योग्यतामाथि प्रश्न उठाउँदै दाबी विरोध वा उजुरी दिने निर्धारित समयभित्र कसैको पनि उजुरी दर्ता नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एक निर्वाचन क्षेत्र रहेको जाजरकोटमा ११ राजनितिक दलबाट ११ जनाले उम्मेदवारी दिएका छन् ।

उजुरी नपरेपछि दर्ता भएका सबै उम्मेदवारको मनोनयन कायम रहेको छ । सहायक निर्वाचन अधिकृत धर्म बहादुर बुढाले उम्मेदवारी दिएका ११ जनाको उम्मेदवारी कायम रहेको र सोही अनुसार नामावली सार्वजनिक गरिएको जानकारी दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका तर्फबाट जाँच गर्दा सबै उम्मेदवार कानुनी रूपमा योग्य रहेको पाइएको उनको भनाइ छ । कानुन बमोजिम कायम रहेका उम्मेदवारको नामावली प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा २४ बमोजिम प्रकाशन गरिएको उनले बताए ।

साथै जिल्लामा मनोनयन दर्ता भएका कोही पनि उम्मेदवारमाथि कुनै पनि दाबी विरोध नपरेको समेत उनले बताए  । निर्वाचन तालिका अनुसार भोली माघ ९ गते उम्मेदवारी फिर्ताको समय छ । भोली नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह दिइने छ । त्यसपछि उम्मेदवारहरूको अन्तिम नामावली अनुसार मत पत्र तयार हुने छ । आगामी फागुन २१ गतेको निर्वाचनका लागि जिल्लामा ११ दलबाट उम्मेदवारी परेको छ ।

उम्मेदवारी दर्ता गराउनेमा नेकपा (एमाले) बाट डम्बरबहादुर सिंह, नेपाली कांग्रेसबाट खडगबहादुर बुढा नेपाली कम्युनिस्ट पार्टीबाट शक्तिबहादुर बस्नेत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राघव कार्की, मंगोल नेशनल अर्गनाइजेसनबाट कमान बुढा मगर, उज्यालो नेपाल पार्टीबाट कर्णबहादुर नेपाली राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कृष्णविक्रम शाह, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट धनीराम जैसी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट बलबहादुर मल्ल, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट मेषबहादुर ओली र राष्ट्रिय जनमोर्चाबाट रजबहादुर खड्का रहेका छन् । यी ११ जना उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रकाशित मिति : २०८२ माघ ८ गते बिहीबार