२०८३ वैशाख २६ , शनिबार

सांसद खडक बुढाले राखे प्रधानमन्त्रीसमक्ष जाजरकोटका १२ समस्या



सुर्खेत। नेपाली कांग्रेसबाट जाजरकोट जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खडक बहादुर बुढाले जाजरकोटका विभिन्न समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाह समक्ष ध्यानाकर्षण गराएका छन्। सोमबार प्रधानमन्त्रीलाई भेट्दै सांसद बुढाले जाजरकोट अझै पनि विभिन्न समस्याले पीडित रहेको उल्लेख गर्दै ती समस्यालाई अवसरमा बदल्न सरकारले गम्भीरतापूर्वक पहल गर्नुपर्ने बताएका हुन्।

भेटका क्रममा उनले २०८० साल कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लामा ठूलो धनजनको क्षति भएको स्मरण गराए। उक्त भूकम्पबाट सरकारी भवन, निजी आवास, विद्यालय, स्वास्थ्य संस्था तथा ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक सम्पदामा व्यापक क्षति पुगेको उनको भनाइ थियो। सरकारी तथा सार्वजनिक संस्थाका भवनहरूको पुनर्निर्माण सुरु भए पनि निजी आवास पुनर्निर्माण प्रक्रिया अझै सुरु नभएको भन्दै उनले नागरिकहरू अझै समस्यामा रहेको बताए।

विस्तृत क्षति आँकलन (डीडीए) मा छुटेका घरहरू पुनः मूल्यांकन गरी निजी आवास पुनर्निर्माण यथाशीघ्र अघि बढाउन उनले आग्रह गरेका छन्। त्यस्तै जाजरकोटको बारेकोट गाउँपालिका र नलगाड नगरपालिकामा निर्माण हुने ४१७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजनाको जग्गा मुआब्जा २०७६ मै वितरण भइसकेको र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) समेत सम्पन्न भइसकेको भए पनि प्रभावित घरटहराको मुआब्जा अझै वितरण नभएको उनले बताए।

कम्पनीको खातामा करिब १ अर्ब ७० करोड रुपैयाँ भए पनि पूर्ववर्ती सरकारको ढिलासुस्तीका कारण आयोजना अलपत्र परेको भन्दै उनले मुआब्जा वितरण र निर्माण प्रक्रिया सुरु गर्न अनुरोध गरेका छन्। सांसद बुढाले पूर्व पाँचथरको चियोभन्ज्याङदेखि पश्चिम बैतडीको झुलाघाटसम्म जोड्ने करिब १ हजार ८७९ किलोमिटर लामो मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत भेरी नदीमाथि निर्माणाधीन सडक पुल वर्षौंदेखि अलपत्र परेको उल्लेख गर्दै उक्त पुल निर्माण छिटो अघि बढाउन आग्रह गरेका छन्। यस्तै जाजरकोट–जुम्ला जोड्ने खलंगा–पाँचकाटिया–व्याउली ढुङ्गा–जुम्ला सडक र छेडा–वडावन–चाँदे–जुम्ला सडक बजेट अभावका कारण अलपत्र परेको भन्दै आवश्यक बजेट विनियोजन गर्न उनले माग गरेका छन्।

साथै पश्चिम जाजरकोटको चंखेलीमा स्थापना भएको इलाका प्रशासन कार्यालयमा मालपोत र नापी कार्यालय स्थापना, जिल्लालाई पूर्ण विद्युतीकरणका लागि बजेट व्यवस्था, मोबाइल सेवा नपुगेका गाउँमा टावर तथा फाइबर इन्टरनेट विस्तार गर्न समेत उनले सरकारसँग आग्रह गरेका छन्। त्यस्तै जाजरकोटमा रहेको सशस्त्र प्रहरी आश्रित गुल्म र पशु अस्पतालको कार्यालय व्यवस्थापनमा देखिएको जग्गा समस्या समाधान गर्न, सदरमुकाम खलंगामा सरकारी कार्यालयका लागि एकीकृत सेवा केन्द्र स्थापना गर्न तथा बारेकोट गाउँपालिका–५ मा रहेको १७० किलोवाट क्षमताको मिनिग्रिड सोलार प्रणाली चट्याङका कारण बिग्रिएकोले तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन पनि उनले अनुरोध गरेका छन्।

सांसद बुढाले जाजरकोट तथा आसपासका क्षेत्रमा संरक्षण क्षेत्र स्थापना सम्बन्धी सम्भाव्यता अध्ययन भइसके पनि कार्यान्वयन हुन नसकेको भन्दै त्यसलाई अगाडि बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति : २०८२ चैत १६ गते सोमबार