सुर्खेत । करोडौँ ठगी गरेको आरोपमा सुर्खेत प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका–७ घर भई हाल सुर्खेतको वीरेन्द्रनगर–१२ बस्ने २२ वर्षीया पवन विक रहेका छन् ।
लोक सेवा, शिक्षा सेवा, प्रहरी र सेनाको लिखित परीक्षा तथा अन्तर्वातामा पास गराईदिन्छु भनेर करोडौँ रकम असुलेको आरोपमा विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवम् सूचना अधिकारी मोहनजंग बुढथापाले जानकारी दिए ।
उनले जैसरा थापाको जाहेरीका आधारमा वादी नेपाल सरकार प्रतिवादी विकसमेत नेपाल प्रहरी तथा अन्य लोकसेवालगायतका भएका अन्तवार्ता तथा लिखित परिक्षामा उत्तीर्ण गराईदिन्छु भनि पिडितहरुबाट करोडौँ ठगी गरेको मिसिल रहेको बताए । ‘फरार रहेका प्रतिवादी पवन विकलाई खोजतलास गर्दै जाँदा मंगलवार दिउँसो १ बजेको समयमा लुकिछिपी बसेको अवस्थामा वीरेन्द्रनगर नगरपालिका–६ बाट पक्राउ गरेका हौँ ।,’
डिएसपी बुढथापाले भने ,‘ठगी मुद्दामा अनुसन्धान कार्य भईरहेको छ ।’ उनकाअनुसार अहिले एक जनाले मात्रै जाहेरी दिएको उनले दुई लाख मात्र बताए पनि अरु धेरै पीडित रहेको र विकविरुद्ध जाहेरी दिने क्रम जारी रहेको बताए । घटनाको अनुसन्धानबाट विकले करोडौँ ठगेको हुन सक्ने उनको भनाइ छ ।