
सुर्खेत । मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोट भेरी नगरपालिका–१३ दारेगौरा र रुकुम पश्चिम चौरजहारी नगरपालिका–२ अँधेरे जोड्ने भेरी नदीमाथिको पुल १३ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । पटक–पटक ठेक्का आह्वान गर्दा पनि निर्माण अघि नबढेपछि स्थानीयले राज्यप्रति तीव्र असन्तुष्टि जनाएका छन् । भेरी करिडोर तथा मध्य पहाडी लोकमार्गलाई जोड्ने मुख्य पूर्वाधारका रूपमा हेरिएको उक्त पुल निर्माण हुन नसक्दा दुई जिल्ला अझै प्रत्यक्ष रूपमा जोडिन सकेका छैनन् ।
पुलको दुवैतर्फ आधार पिल्लर खडा गरिए पनि निर्माण कार्य भने ठप्प छ । स्थानीयवासीका अनुसार पुल सबैले देख्ने ठाउँमा भए पनि यसको पीडा कसैले नदेखेको जस्तै भएको छ । सामाजिक सञ्जालमा दैनिकजसो पुलका तस्बिर सार्वजनिक गर्दै आलोचना गरिए पनि राज्य संयन्त्र भने बेखबरजस्तै देखिएको उनीहरूको गुनासो छ । भेरी नगरपालिका–१३ का वडाध्यक्ष यज्ञबहादुर बटालाले पुल नबन्दा सर्वसाधारणले ठूलो सास्ती भोग्दै आएको बताए ।
‘चौरजहारीस्थित अस्पतालमा उपचारका लागि जानेदेखि अन्य कामका लागि जाने नागरिकहरू समस्यामा छन्,’ उनले भने, ‘पुल नहुँदा मध्यपहाडी लोकमार्ग जाजरकोटमा जोडिन सकेको छैन ।,’ २०६९ सालमा मध्य पहाडी राजमार्ग आयोजना कार्यालयले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी वाइपी कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरेको थियो ।
तर, ठेकेदार कम्पनीले काम नगरेपछि सम्झौता भएको झण्डै एक दशकपछि २०७९ मंसिर २९ गते ठेक्का रद्द गरिएको थियो । ठेक्का रद्दसँगै ७२ लाख रुपैयाँ धरौटी र २ करोड ६० लाख रुपैयाँ पेस्की जफत गरिएको छ भने सार्वजनिक खरिद नियमावली, २०६३ अनुसार ८ करोड ५७ लाख ९५ हजार ६२६ रुपैयाँ जरिवाना समेत तोकिएको छ । कुल १८ करोड लागत अनुमान गरिएको यो आयोजना अझै अलपत्र नै छ ।
नयाँ डिजाइनसहित टेन्डर आह्वान गर्ने तयारी
मध्यपहाडी राजमार्ग योजना कार्यालय दैलेखका प्रमुख निरञ्जन थापाका अनुसार पुल निर्माणका लागि नयाँ डिजाइनसहितको प्रस्ताव सडक विभागमा पठाइएको छ । नदीको बहाव बढेकाले तटबन्धसहित नयाँ डिजाइन तयार गरिएको र स्वीकृति पाएपछि यसै वर्ष टेन्डर आह्वान गर्ने तयारी रहेको उनले जानकारी दिए ।
यसअघि दोस्रो पटक आह्वान गरिएको टेन्डरमा उच्च लागत प्रस्ताव आएपछि सम्झौता हुन सकेन भने अर्को पटक कुनै पनि कम्पनीले प्रस्ताव पेश नगरेको कार्यालयले जनाएको छ । पुल निर्माण नहुँदा मध्यपहाडी लोकमार्गको स्तरोन्नति तथा कालोपत्रे कामसमेत प्रभावित भएको छ । रुकुम पश्चिम खण्डबाट जाजरकोटसम्म यातायात सञ्चालन हुन नसक्दा स्थानीयको दैनिक जनजीवन कष्टकर बनेको छ ।
लुम्बिनी–रारा राजमार्गसमेत जोड्ने रणनीतिक महत्वको यो पुल निर्माण नहुँदा समग्र विकासको गति अवरुद्ध भएको सरोकारवालाहरू बताउँछन् । केही दिन अघि मात्रै जाजरकोटबाट निर्वाचित सांसद खडक बहादुर बुढाले पनि प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै पुल निर्माणमा ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएका थिए ।