२०८३ वैशाख ३ , बिहीबार

जाजरकोटमा एक पुरुषको बेवारिसे शव फेला



जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिकामा एक पुरुषको बेवारिसे शव फेला परेको छ। बिहीबार बिहान वडा नम्बर १२ स्थित किदुर छेडाखोलामा करिब ४५ वर्ष उमेरका पुरुषको शव भेटिएको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार उक्त शव खोलाको ढुंगामा अड्किएको र घोप्टो परेको अवस्थामा देखिएको थियो।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेको प्रहरीले जनाएको छ। हाल उक्त शवलाई पोस्टमार्टम तथा पहिचानका लागि स्वास्थ्य सेवा कार्यालय जाजरकोटको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए ।

उनकाअनुसार अहिलेसम्म मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको तथा आफन्तजन पनि सम्पर्कमा आएका छैनन् । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख ३ गते बिहीबार