
सुर्खेत । सार्वजनिक बिदाका दिन अनुमतिबिना सञ्चालनमा आएका सरकारी सवारी साधनमाथि सुर्खेत प्रहरीले कडाइ थालेको छ। आइतबार जिल्ला प्रहरी कार्यालय सुर्खेत र मातहतका प्रहरी इकाइबाट संयुक्त रूपमा टोली परिचालन गरी त्यस्ता सवारी साधनहरू नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार एकै दिन झण्डै एक दर्जन साना तथा ठूला सरकारी सवारी साधन कारबाहीमा परेका छन्। सार्वजनिक बिदाको दिन सवारी पास बिना आवतजावत गरेको पाइएपछि कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए।
उनका अनुसार राजधानी क्षेत्रका विभिन्न स्थानबाट सरकारी सवारी साधन नियन्त्रणमा लिइएको हो। सार्वजनिक बिदाको दिन सवारी पास नलिई सञ्चालनमा रहेका विभिन्न सरकारी कार्यालयका साना तथा ठूला सवारी साधन नियन्त्रणमा लिएका उनको भनाइ छ। उनले नियन्त्रणमा थप आवश्यक कारबाहीका लागि ती सवारी साधन कार्यालयमै राखिएका बताए।
विश्व बजारमा इन्धन अभाव र मूल्यवृद्धिको प्रभावलाई ध्यानमा राख्दै सरकारले तेल खपत घटाउने उद्देश्यले सातामा दुई दिन सार्वजनिक बिदा दिने नीति लागू गरेको छ। तर उक्त नीतिको उल्लङ्घन गर्दै केही सरकारी कर्मचारीहरूले सवारी साधन प्रयोग गरिरहेको पाइएपछि प्रहरीले निगरानी बढाएको जनाएको छ।