
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन्। आइतबार बसेको प्रदेश सभाको बैठकबाट उनले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहेकका दलहरूबाट दुईतिहाइ मत पाएका हुन्। केन्द्रमा बनेको नयाँ गठबन्धनमा आबद्ध दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र प्रदेश सभा सदस्यले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएका छन् । मुख्यमन्त्री शाहको पक्षमा ४१ र विपक्षमा ११ मत खसेको थियो । ५३ सदस्यीय प्रदेश सभामा आज ५२ सांसद उपस्थित रहेका थिए ।
गत माघको २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिएका हुन्। संविधाको धारा १६८ को उपधारा ३ बमोजिम २६ माघमा संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए। योसँगै कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार जोगिएको छ। यसअघि २७ पुसमा मुख्यमन्त्री नियुक्त एमालेका राजेन्द्र सिंह रावल समर्थन गरेको नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा २९ दिनमै पदमुक्त भएका थिए।