सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परीयारले चाडवाडलाई थप समृद्ध बनाउँदै भावी पुस्तासम्म जीवित राख्न जरुरी रहेकाे बताएका छन् । फागुपूर्णिमा होलीका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै परीयारले यस्तो बताएका हुन् । उनले होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरुपमा विविधतापूर्ण रहेको बताउँदै विविधतायुक्त समाजलाई एकताबद्ध बनाउने दायित्व तथा परम्परागत चाडवाडलाई थप समृद्ध बनाउँदै भावी पुस्तासम्म जीवित राख्ने दायित्व नागरिकको पनि भएको उल्लेख गरेका छन् । उनले विविध संस्कृतिहरूको इन्द्रेणीको रूपमा रहेको नेपाली समाजमा रङ्गहरूको पर्व फागुपूर्णिमाले समस्त नेपालीहरू बीच आपसी सद्भाव, सहिष्णुता, आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने भन्दै समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति, कुरीति एवं कुपरम्पराहरूलाई निर्मूल गर्दै मौलिक संस्कृति सहितको सभ्य,सुसंस्कृत एवं न्यायपूर्ण समाजको निर्माण र संवद्र्धन गर्न सबैलाई उत्प्रेरित गर्ने विश्वास लिएको बताए ।
साथै चाडवाडका नाममा हुने कतिपय गलत प्रवृत्तिहरुलाई भने निरुत्साहित गर्नैपर्ने प्रमुख परीयारले उल्लेख गरेका छन् । लोक संस्कृतिको प्रवद्र्धन वसन्त ऋतुको आगमनसगै प्रत्येक वर्ष फाल्गुन शुक्ल पूर्णिमाको दिन आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने फागुपूर्णिमा होली पर्व यो वर्ष हिमाली,पहाडी तथा भित्री मधेसका जिल्लाहरूमा फाल्गुन २२ गते र तराईका जिल्लाहरुमा फाल्गुन २३ गते विभिन्न रङ र अबिर खेल्दै हर्षोल्लासपूर्वक मनाईदैछ । जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम संगमका रुपमा रहेको हाम्रो मुलुकमा सबै नेपालीहरुले खुसी र हर्षोल्लासपूर्वक रंगहरुमा रमाएर यस पर्वमनाउने गर्दछन ।यस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव एवम् राष्ट्रिय एकता कायम राख्न मद्दत पुर्याउदै आएको छ ।