काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । राष्ट्रपति निर्वाचनको एक दिन अघि बुधबार (भोलि) राप्रपाले कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।बैठकले राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्ने बारे ठोस निर्णय लिने बताइएको छ ।बिहीबार (पर्सी) राष्ट्रपति निर्वाचन हुँदै छ । त्यसअघि राप्रपाले राष्ट्रपति निर्वाचन बारे निर्णय लिनेछ । बैठक १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ । निर्वाचन फागुन २५ गते हुँदै छ ।
निर्वाचनमा नौ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् । सोमबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा पुगेर पौडेलले अध्यक्ष राजेन्द्र लिङ्देनसहितका राप्रपा नेताहरूसँग भोट मागेका थिए । पार्टीभित्र मतदानमा भाग लिनुपर्ने र लिन नहुने दुवै मत भएका कारण फागुन २४ गते निर्णय लिने राप्रपाले जनाएको छ । राष्ट्रपति चुनावमा राप्रपासँग २४५० मत भार छ ।