२०८३ वैशाख ४ , शुक्रबार

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ हुँदै



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । इजलासले सुनुवाइपछि विपक्षी बनाइएका दाहाल, प्रधानमन्त्री कार्यालय, गृह, रक्षा, कानुन मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई निश्चित समय तोकी लिखित जवाफ पेश गर्दै अदालतमा उपस्थित हुन आदेश दिन सक्छ । सोमबार दाहालविरुद्ध ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले दुई भिन्न रिट दायर गरेका थिए । निवेदकहरुले दाहालद्वारा २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित एक कार्यक्रममा द्वन्द्वकालमा भएका १७ हजार हत्या मध्ये ५ हजार हत्याको जिम्मेवारी लिने अभिव्यक्तिलाई मध्यनजर गर्दै उनीविरुद्ध ती हत्याको अभियोजन दायर भई अदालतबाटै निरुपण हुनु पर्ने माग गरेका छन् ।

रिटमा आज प्रारम्भिक सुनुवाइ हुनेछ । प्रारम्भिक सुनुवाइमा निवेदक तर्फबाट बहस हुन्छ । विपक्षी प्रत्यर्थीले प्रारम्भिक सुनुवाइमै सरिक हुनका लागि निवेदन दिएमा प्रत्यर्थी समेतले बहस गर्न पाउँछन् । निवेदकतर्फको बहसपछि इजलासले रिट खारेज पनि गर्न सक्छ । रिट खारेज नभएको सन्दर्भमा अदालतबाट कारण देखाउ आदेश वा अन्तरिम आदेश जारी हुन सक्छ । रिटमा दाहालको अभिव्यक्तिको आधारमा अभियोजन दायर हुनुपर्ने हुँदा तत्काल उनलाई पक्राउ गर्न अन्तरिम आदेशको पनि माग गरिएको छ ।

प्रकाशित मिति : २०७९ फागुन २५ गते बिहीबार