काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै लड्न नसकेर दश दलीय गठबन्धन बनाइएको टिप्पणी गरेका छन्। शनिबार ललितपुरमा आयोजित अखिल नेपाल महिला संघ सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको चौथो विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उपराष्ट्रपतिमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यसँग एक्लै लड्न नसकेर दश दलीय गठबन्धन बनाइएका बताएका हुन्। उनले गठबन्धनभित्र अनेक प्रकारका जालझेल र प्रपञ्च भएको बताए। उनले राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि गठबन्धनले फरक समुदायको भनेर पुरुष नै उम्मेदवारी दिएर जालझेल गरेको बताए।
अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दक्षिणपन्थीको नांगो दलाली गरेको आरोप लगाए। दाहाल र नेपालले कम्युनिस्ट पार्टीका उम्मेदवारलाई राष्ट्रपति बन्न नदिएको उनको टिप्पणी छ। उनले देशमा जातीय आधारमा नभई वर्गीय आधारमा आरक्षण दिइनुपर्ने बताए। जातीय रूपमा आरक्षण दिँदा त्यसको दुरुपयोग भएको भन्दै उनले व्यक्तिको आर्थिक अवस्था हेरेर आरक्षण दिइनुपर्ने बताए