सुर्खेत ४, कार्तिक
कोरोना रोगको रोकथाम, नियन्त्रण तथा उपचार लगायतका कार्यहरु प्रभावकारी ढंगले छिटो, व्यवस्थित र समन्वयात्मक रुपमा गर्न निर्णय गर्दै डिसिसिएमसी (कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्र) सुर्खेतको बैठक सम्पन्न भएको छ ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा भएको बैठकमा जिल्लामा नोभेल कोरोना रोगबाट पर्न सक्ने सम्भावित जोखिम नियन्त्रण, रोकथाम तथा उपचार लगायतका कार्यको लागि हालसम्म भए गरेका क्रियाकलापहरुको बारेमा समिक्षा गरिएको थियो ।
साथै गृह मन्त्रालयबाट प्राप्त कोभिड १९ निर्णय कार्यान्वयन सम्वन्धी पत्र साथ प्राप्त निर्णयहरु बैठकमा पेश भई छलफल भएको र उक्त पत्रमा तोकिएका निर्णयहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए।
वैठकले चाडपर्वको अवधिमा विभिन्न शक्ति पीठहरुमा श्रद्धालुहरुको भिडभाड हुन नदिन सम्वन्धित समुदाय वा मन्दिर व्यवस्थापन समितिहरुलाई जिम्मेवार वनाउने समेत निर्णय गरेको छ। ती स्थानहरुमा भिडभाड हुन नदिने लगायतका स्वास्थ्य सुरक्षाको मापदण्डहरुको पालना गर्ने गराउने व्यवस्था मिलाउने समेत वैठकले निर्णय गरेको छ।
यसैगरी वैठकले अत्यावश्यक सेवा बाहेकका व्यापार, व्यवसाय तथा सवारी साधनहरु हरेक दिन साँझ ८ बजे देखि विहान ६ बजेसम्म बन्द गर्ने निर्णय गरेको र जिल्लामा संक्रमण दर दिन प्रति दिन बढ्दै गएकाले आईसोलेसन बेड, भेण्टिलेटर र आईसियू को संख्या वढाउन पिसिसिएमसीलाई अनुरोध गर्ने निर्णय समेत गरिएको प्रजिअ रेग्मीले जानकारी दिए।
वैठकमा वीरेन्द्रनगर नगर पालिकाका प्रमुख देवकुमार सुवेदी, जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्र भट्ट, जिल्ला समन्वय अधिकारी दुर्गाप्रसाद चालिसे, जिल्ला जनस्वास्थ्य प्रमुख चेतननिधी वाग्ले, नेपाली सेनाका प्रतिनिधी, सशस्त्र प्रहरी वलका प्रतिनिधी, सुर्खेत चेम्बर, सुर्खेत उधोग वाणिज्य संघका प्रमुखहरुको उपस्थिति रहेको थियो।
