मकवानपुर। पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवनापुरको मनहरी गाउँपालिका-६ स्थित नयाँबस्ती भन्ने स्थानमा आज दिउँसो भएको बस दुर्घटनामा १३ जना घाइते भएका छन्। जसमध्ये एक जनाको अवस्था गम्भीर छ। आज दिउँसो करिब पौने ४ बजे चितवनबाट हेटौँडा आउँदै गरेको ना७ख १३२६ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा बस चालक उदयपुर कटारी नगरपालिकाका-३३ वर्षका समिन मिया गम्भीर घाइते भएका हुुन्।
उक्त दुर्घटनामा मकवानपुर मनहरी गाउपालिकाकी रोशनी बर्तौला, सोही स्थान बस्ने अर्जुन नेपाली, सरिता परियार, मकवानपुरको राक्सिराङ गाउपालिकाकी फुलमाया तामाङ, हेटौंडा उपमहानगरपालिका-५ बस्ने रीता थापा, धनदेवी थापा, वडा नम्बर-८ का राकेश प्याकुरेल,चितवन राप्ती नगरपालिका वडा नं-१ बस्ने लक्ष्मी घलान, वडा नं-२ बस्ने बबिता लामा धलान, खोटाङ मजुवागडी गाउँपालिका वड नं-२ बस्ने दिपेश राई ,बारा जिल्ला कलैया नगरपालिका वडा नम्बर १ का रामपुकार साह कानु र बारा फेटा गाउँपालिकाका बोधनाथ राउत कुर्मी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीका अनुसार घाइते सबैको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ।