सुर्खेत, १६ कार्तिक ।
वीरेन्द्रनगर नगरपालिका–५, खोर्के खोलाका सिउराम सुनार र उनकी श्रीमती विष्णु सुनारलाई युवा समाजसेवी तथा नेकपाका नेता तिर्थ सुनारले खाद्यान्न सहयोग गरेका छन् ।
खोर्के खोलाको किनार नजिकै सार्वजनिक जग्गामा झुपडी बनाएर बसेका उक्त दम्पती आर्थिक अभावका कारण केही समयदेखि भोकै बस्दै आएका थिए ।
उनीहरु भोकै रहेको जानकारी पाएपछि समाजसेवी सुनारले उनीहरुलाई एक प्याक चामल, दाल, नुन, तेल र एक÷एक जोर नयाँ कपडा सहयोग गरेका छन् ।
सामाजसेवी सुनारले दुःखमा परेका नागरिकहरुलाई मानवताका हिसाबले सहयोग गरेको बताउँदै अन्य सहयोगी हातहरुले पनि उनीहरुलाई सहयोग गर्न अपिल गरेका छन् ।
यसभन्दा अघि पनि विभिन्न ठाउँमा सहयोग वितरण गरेका समाजसेवी तथा युवा नेता सुनारले भने, ‘वृद्ध दम्पतीका जीवनी दुःखद् भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको छ ।’ वृद्धवृद्धाका लागि सहारासमेत कोही नभएकाले उनीहरूको दैनिकी पीडादायी भएको उनले बताए ।
सन्तान नभएका सुनार दम्पतीको सहारा कोही नहुँदा दैनिकी कसरी चलाउने भन्ने चिन्ता जागेको छ । ३४ वर्षदेखि अरुले दिएका पुरानै कपडा लगाउँदै आएको सिउरामले गुनासो गरे ।
उमेरले ६० नाघेका सिउराम कहिलेकसो मजदुरी गर्छन् । मजदुरी गरेको पैसाले घर व्यवहार चलाउँदै आएका उनको कोरोना भाइरसका कारण बन्दाबन्दी (लकडाउन) र बेलाबेला लागेको निषेधाज्ञाले गर्दा त्यही मजदुरी पनि खोसिएपछि समस्यामा परेका छन् । यसपालिको दसैं पनि खर्च अभावका कारण मनाउन नपाएको दुखेसो पोख्दै तिहार पनि भोकै मनाउनुपर्ने बाध्यता रहेको बताए ।
