
फाईल तस्बिर
बर्दिया । बर्दियामा बाघको आक्रमणबाट सोमबार घाँस दाउरा गर्न गएका दिदी बहिनीको मृत्यु भएको छ । मधुवन नगरपालिका–५ की ५५ वर्षीया समुद्रा बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरूङको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले सेतोपाटीलाई बताए । उनीहरू दिदी–बहिनी हुन ।
उनीहरू स्थानीय चिरौटे सामुदायिक वनमा घाँस दाउरा काट्न भनेर गएका थिए। परिवारका सदस्यका अनुसार उनीहरू बिहान साढे ११ बजेतिर घरबाट निस्किएका थिए । लामो समयसम्म घर नर्फिएपछि सुरूमा स्थानीय खोजीमा गएका थिए। एसपी शाहीका अनुसार प्रहरीलाई पौने तीन बजेतिर मात्रै सूचना दिइएको थियो। त्यसपछि प्रहरी, स्थानीय र वनका पदाधिकारी खोजीमा गएका थिए।
खोजी गर्ने क्रममा सुरूमा समुद्राको शव फेला परेको र त्यसको झन्डै दुई सय मिटर टाढा धनसरीको शव फेला परेको एसपी शाहीले बताए । समुद्राको घाँटीमा बाघले आक्रमण गरेको पञ्जा देखिए पनि उनको शरिरको अन्य भागमा कुनै चोट पटक लागेको छैन। धनसरीको बाँया पट्टीको हात पाखुरादेखि कुहिनासम्म खाएको अवस्थामा फेला परेको एसपी शाहीले बताए । दुबैको शव संकलन पछि अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरियामा पठाइएको छ