२०८३ वैशाख ५ , शनिबार

बिन्दास ओली



काठमाडौं । नेकपा एमाले मिसन ग्रासरुट अभियानमा छ । अभियानका क्रममा देशका बिभिन्न भूभाग पुगिरहेका छन् एमाले अध्यक्ष केपी शर्मा ओली । पाँच वर्ष पछिको चुनावमा एमाले एक्लैले ५१ प्रतिशत मत पाउने वातावरण बनाउने भन्दै मिसन ग्रासरुट अभियानमा निस्केका ओली वाक कला र व्यवहारमार्फत नेता÷कार्यकर्ता र जनतालाई प्रभावित पार्ने प्रयास गरिरहेका छन् ।

 

अभिमुखीकरण कार्यक्रममा रमाइलो र ठट्यौली शैलीमा प्रस्तुत हुने, एक कार्यक्रमबाट अर्को कार्यक्रममा पुग्दा बीचमा पर्ने बाटामा रहेका धार्मिक स्थलहरुको अवलोकन गर्ने, पर्यटकीय क्षेत्रमा पुग्ने, डाँडाकाडाँहरुमा प्रकृतिसँग रमाउने गरिरहेका छन् । जनताका बीचमा रमाउने र उनीहरुलाई पनि मानव जीवन शैली कस्तो हुनुपर्छ भनी सिकाउने उनको प्रयास सामाजिक सञ्जालमा छाएका छन् । अभियानका क्रममा ओलीले गुल्मीको रेसुंगा र रुरु क्षेत्रको भ्रमण गरे ।

 

सोमबार नेकपा एमाले गुल्मीले तम्घासमा आयोजना गरेको मिसन ग्रासरुट कार्यक्रममा सरिक भए । अभियानमा ओलीसँगै उनकी पत्नी राधिका शाक्य लगायतका नेताहरु पनि साथमा छन् रेसुङ्गालाई ओलीले आध्यात्मिक र धार्मिक तपोभूमिको रुपमा पनि ब्याख्या गरेका छन् । हिन्दु धर्मशास्त्र रामायणको प्रसंग उठाउँदै उनले राजा दशरथका सन्तान नभए पछि अयोद्या पुगेर ऋषि ऋष्यशृंगको सुझाव अनुसार पुत्रेष्टि महायज्ञ गरेको ओलीको भनाइ छ ।

 

रेसुङ्गा क्षेत्र ऋषि ऋष्यशृंगले तपस्या गरेको स्थल भन्दै ओलीले चिन्तक, दार्शनिक र सभ्यता सुरु गर्नेहरुको स्थल भएको बताए । ओलीले गुल्मीकै अर्को धार्मिक क्षेत्र रुरुको पनि अवलोकन गरेका छन् । रुरुक्षेत्रमा उनले बनेको तीन मुखे पुलको पनि अवलोकन गरेका छन् । ओली मंगलबार गुल्मीका कार्यक्रम सकेर पाल्पा पुगेका छन् । पाल्पामा पुगेका ओलीले बुधबार अभिमुखीकरण कार्यक्रममा राजनीतिक छेडखान गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालको भूभाग खुम्च्याएको आरोप लगाए ।

 

सरकारमा भएकाहरुले देशको रक्षा गर्नुका सट्टा खुम्च्याएको आरोप लगाउँदै ओलीले सरकारमा भएकाहरुले रक्षा गर्नुपर्नेमा देखेको नदेख्यै गरेको जनाए । आफूले प्रधानमन्त्री छाडेपछि दाहाल र देउवाले मुलुकको सीमा मिचिइरहँदा टुलुटुलु हेरेर बसेको उनको आरोप छ । फरक प्रसंगमा ओलीले अहिलेको गठबन्धनलाई रावणका दश टाउका हुन्छन् भनेकामा चित्त दुखाएको बताउँदै अहिलेको गठबन्धनले राम्रो काम नगरेको ठोकुवा गरे ।

 

अर्थात, राजनीतिक रुपमा समेत उनी अन्य दल र अन्य दलका नेताहरुमाथि खनिइरहेका छन् । राजनीति बिन्दास तरिकाले पनि हुन्छ भन्ने उनको शैली र व्यवहारले देखाउँछ । गत चुनावमा एमालेले ७८ सिट जितेको छ । चुनावमा एमालेले राप्रपा लगायतका दलको गठबन्धन बनाएको थियो । अन्य ठूला पाँच दलले चुनावी गठबन्धन बनाएका थिए ।

 

चुनाव अगाडिको पाँच दलीय गठबन्धनले सरकार बनाउने बहमत पाएको छ । तर, पहिले को प्रधानमन्त्री बन्ने विवादका बीच एमालेले मामओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउन भूमिका खेल्यो । सातै प्रदेशमा सरकारमा सहभागी भयो । प्रतिनिधिसभामा उपसभामुख एमालेले लियो । तर, राष्ट्रपतिको निर्वाचनसँगै एमाले, माओवादीसहितको गठबन्धन भत्कियो । विपक्षमा पुगेको कांग्रेस सरकारमा गयो । सरकार नै बनाउन भूमिका खेलेको एमाले प्रतिपक्षमा पुग्यो । संघदेखि प्रदेशसम्म सबैतिर संघदेखि सातै प्रदेश सरकारबाट बाहिर पुगेको एमाले ग्रासरुट अभियानमा निस्केको छ । सत्ताबाट च्युत भएको बेला निराश नभएर जनताको बीचमा गएका एमाले अध्यक्ष ओलीले राजनीतिमा आवेग मात्रै हुँदैन भन्ने प्रस्ट्याइरहेका छन् ।

प्रकाशित मिति : २०७९ चैत १५ गते बुधबार