२०८३ वैशाख ५ , शनिबार

नेपाल पत्रकार महासंघ ६८ औं वर्षमा प्रवेश



सुर्खेत। नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ स्थापनाको ६८ औं वर्षमा प्रवेश गरेको छ । महासंघले स्थापना दिवसको अवसरमा देशैभर र विश्वका विभिन्न स्थानमा छरिएर रहेका महासंघका सदस्यसहित आमनेपाली सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा हार्दिक बधाईका साथै शुभकामना व्यक्त गरेको छ ।

महासंघका अध्यक्ष विपुल पोख्रेलले एक विज्ञप्ति जारी गर्दै संस्थाको स्थापनाकालदेखि आजसम्म आइपुग्दा विभिन्न कालखण्डमा नेतृत्व प्रदान गर्ने अग्रजहरूप्रति उच्च सम्मान प्रकट गरेका छन् । यस्तै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लडाइँका क्रममा तथा आफ्नो कर्तव्य निर्वाहका क्रममा साहदत प्राप्त शहीद पत्रकारहरूप्रति श्रद्धाञ्जली समेत व्यक्त गरिएको छ ।

 

यस्तै कोरोना माहामारीलगायत विभिन्न स्वास्थ्य समस्याले ज्यान गुमाएका पत्रकारहरूप्रति पनि अध्यक्ष पोखरेलले विज्ञप्तिमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् । ‘नेपाल पत्रकार महासंघले स्थापनाकालदेखि नै नेपालमा श्रमजीवी पत्रकारको हक, हित र अधिकार तथा स्वतन्त्र पत्रकारिताको संस्थागत विकासका साथै राष्ट्रियता, लोकतन्त्र एवं नागरिक अधिकारका लागि अहम् भूमिका खेल्दै आएको छ ।

 

यसमा हाम्रा अग्रजहरूको योगदान र महासंघको गौरवपूर्ण इतिहासप्रति महासंघ केन्द्रीय समिति गर्व गर्दछ’ विज्ञप्तिमा भनिएको छ, ‘आगामी दिनमा पनि जस्तोसुकै प्रतिकूल अवस्थामा पनि अग्रजहरूले देखाएको मार्गबाट रत्तिभर विचलित नभई महासंघको उद्देश्य हासिल गर्न अझ सशक्त रूपमा लागिरहनुपर्ने आवश्यकताप्रति म यस अवसरमा सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।’

महासंघले भनेको छ,‘नेपालकै पहिलो लोकतान्त्रिक चरित्रको नागरिक संस्था नेपाल पत्रकार महासंघ हो । यो संस्थाले आफूलाई समावेशी र सबैभन्दा पहिले संघीय ढाँचामा जाने संस्थाका रूपमा प्रस्तुत गरेको छ । यो हाम्रो गौरवको विषय हो । अब पनि समयानुकुल हुँदै समसामयिक सवालमा प्रभावकारी नेतृत्व गर्ने संस्थाका रूपमा महासंघलाई अगाडि बढाउने दायित्व आफ्नो माझमा रहेको छ ।’

अहिले मुलुक आर्थिक संकटमा छ । यसको असरले नेपालको पत्रकारिता क्षेत्रमा पनि परेको छ । यो अवस्थामा मुलुकको आर्थिक संकट निवारणका लागि मिडियाले पनि आफ्नोतर्फबाट भूमिका खेल्नुपर्ने महासंघले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।महासंघले भनेको छ, ‘आर्थिक संकटले पारेको यो असरलाई आवश्यक रणनीति निर्माण गरेर सम्बोधन गरेर श्रमजीवी पत्रकारको पेशागत अधिकार स्थापित गर्दै संचार संस्थाहरूको सवलीकरणको दिशामा काम गर्ने प्रमुख दायित्वका साथ यतिबेला हामी अगाडि बढ्न जरुरी देखिएको छ ।

 

यसका लागि राज्यको अभिभावकीय भूमिका आवश्यक पर्दछ ।’ भर्खरै निर्वाचहरू सम्पन्न भएका छन् । वडास्तरदेखि राष्ट्रपतिसम्मको निर्वाचनले यो वर्ष नयाँ आशा जगाएको छ । ताजा जनादेशसहित उपस्थित सरकार र संसद्ले मिडियाका सवालहरूलाई प्राथमिकतामा राख्नु भनी महासंघले आवाज उठाउँदै र ध्यानाकर्षण गराउँदै आएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘महासंघले अगाडि सार्दै आएका श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, साना लगानीका स्वरोजगारमूलक र गैरनाफामूलक सञ्चारमाध्यमको प्रवद्र्धन, पत्रकारको दक्षता अभिवृद्धिका लागि केन्द्र र प्रदेशस्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना, आमसञ्चार प्राधिकरणजस्ता निकायको स्थापना, प्रेस काउन्सिलको पुनर्संरचना, समानुपातिक विज्ञापनको कार्यान्वयन, श्रमजीवी पत्रकार कल्याण कोषमा विज्ञापनको १० प्रतिशत रकम राख्नुपर्ने कानुनी व्यवस्थाको कार्यान्वयन, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, निःशुल्क उपचारको प्रबन्ध, जेष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ता वितरणको व्यवस्था एवम् आमसञ्चार विकास कोषको स्थापनालगायतका मागहरू पूरा गर्न सरकारसहित सम्बन्धित निकायहरूमा म पुनः ध्यानाकर्षण गराउँदछु ।’

 

प्रविधिको विकासले पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै सिर्जना गरेको छ । इन्टरनेट प्लेटफर्मको अत्याधिक सदुपयोग गर्दै त्यसमार्फत पत्रकारिताको विश्वासनीयता अभिवृद्धि गर्ने दिशामा पत्रकार स्वयं क्रियाशील हुनु जरुरी रहेको पनि महासंघले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रविधिमैत्री पत्रकारिताका लागि राज्यले पनि आवश्यक वातावरण र अवसर निर्माण गर्नुपर्दछ । आमसञ्चार प्रतिष्ठान स्थापना गरी पत्रकारिताका नयाँ आयाम र प्रविधिको प्रयोगबारे पत्रकारलाई दक्ष बनाउनका लागि राज्यसँग आग्रह पनि गर्दछु ।’

प्रकाशित मिति : २०७९ चैत १६ गते बिहीबार