
कांग्रेसबाट चितवन २ को उम्मेदवार बनेका जीतनारायण श्रेष्ठ
चितवन। कांग्रेसबाट चितवन २ को उम्मेदवार बनेका जीतनारायण श्रेष्ठले ४ मंसिरमा रवि लामिछानेले हावाहुरी सिर्जना गरे पनि अहिले उनी पहिचान खोज्नुपर्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् । केन्द्रीय कार्यालयमा आफ्नो नाममा सहमति बनेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रेष्ठले अब पहिलेजस्तो चिवतनमा रविको हावाहुरीको असर नहुने बताएका हुन् ।
‘चितवनमा मंसिरमा भएको निर्वाचनमा हावाहुरी आएको थियो । तर जे जसरी त्यहाँ हावाहुरी आएको थियो अहिले जनताबीच स्थिति त्यस्तो छैन । रवि लामिछाने मेरो पहिचान कहाँ हो भनेर खोज्नुपर्ने अवस्थामा पुगेका छन्’, श्रेष्ठले भने, ‘रास्वपाले कहिले कसलाई समर्थन गर्ने, कहिले कसलाई भोट हाल्ने र किन भोट हालको भनेर पनि खुलाएको छैन । किन सरकारलाई समर्थन गरेको र विश्वासको मत किन दिएको भनेर पनि जनतालाई भन्नु नपर्ने रु न पार्टीबाट निर्णय गर्नुपर्ने ।
यसपटक चितवनका नागरिक सचेत भइसके ।’ जनताले नजिकबाट लामिछानेको गतिविधिको निगरानी गरेको भन्दै १० वैशाखको निर्वाचनमा परिणाम उल्टाउने दाबी पनि उनले गरे । ४ मंसिरमा भएको निर्वाचनमा चितवन २ बाट रास्वपाका सभापति लामिछाने १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी अन्तरले जितेका थिए । कांग्रेसका उमेश श्रेष्ठ पराजित भएका थिए । चितवन २ मा पार्टी गठनको छोटो समयमै लामिछानेले फराकिलो जीत हात पारेका थिए ।
लामिछानेले ४९ हजार ३०० मत ल्याएका थिए। यहाँ कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत प्राप्त गरेका थिए । राप्रपाका रविन अधिकारीले भने ९५५ मत पाएका थिए। नागरिकता प्रकरणमा सांसद र गृहमन्त्री पद गएपछि पुनः नागरिकता प्राप्त गरेका लामिछाने नै यो क्षेत्रबाट उठ्दै छन्। अघिल्लोपटक उनी ३४ हजार ३१२ मतान्तरले विजयी भएका थिए।