
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाख १० मा हुने उपनिर्वाचनका लागि ३ जना उम्मेदवारको घोषणा गरेको छ । पार्टी कार्यालय बसुन्धरामा आयोजित पत्रकार सम्मेलनमार्फत रास्वपाले चितवन २ मा पार्टी सभापति रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने जानकारी दिएको हो ।
नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले लामिछानेको पद खारेज गरेपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । यस्तै नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली रहेको तनहुँ १ मा रास्वपाले वाग्लेलाई उम्मेदवार बनाउन लागेको हो । रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा २ मा उपनिर्वाचन हुँदैछ ।
बारा २ मा उठ्न लागेका रमेश खरेल गत मंसिरको निर्वाचनमा हाम्रो सुशासन पार्टीबाट काठमाडौं १ मा उठेका थिए । काठमाडौं १ मा पाँचौ भएका खरेल अहिले पार्टी परिवर्तन गरेर बारा २ मा रास्वपाबाट उपनिर्वाचन लड्न लागेका हुन् ।