
सिरहा। सिरहाको गोलबजारस्थित जनता माध्यमिक प्राविधिक विद्यालय गोलबजारका केन्द्राध्यक्ष भरत साहले पत्रकार सबिन्द्र यादवलाई ज्यान मार्ने धम्की दिएका छन् । आइतबार एसईई परीक्षाको रिपोर्टिङका लागि केन्द्रमा पुगेका पत्रकार यादवलाई दुर्व्यवहार गर्दै उनको मोबाइलसमेत जफत गरेर केन्द्राध्यक्ष साहले ज्यान मार्ने धम्की दिएका पत्रकार यादवले बताए ।
यादवका अनुसार परीक्षा समाप्त भएपछि हलमा देखिएको चिट, गेसपेपर लगायतको फोटो खिच्न खोज्दा केन्द्राध्यक्ष साहले मोबाइल जफत गरेर प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर आउन भनेका थिए । ‘पुरानो समाचारको विषयलाई लिएर केन्द्राध्यक्ष साहले म माथि दुर्व्यवहार गर्दै ज्यान मार्ने धम्की दिए’ पत्रकार यादवले भने । निजी विद्यालयबाट रकम लिएर चिट चोराएको सूचनाका आधारमा पत्रकार यादव परीक्षा केन्द्र पुगेका थिए । केन्द्रमा गोलबजारका ५ पाँच विद्यालयका परीक्षार्थी परीक्षामा सहभागी छन् ।