हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडियाप्रति लाल्छना लगाउनु गलत भएको बताएका छन् । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनको सन्र्दभमा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठको मनोनयन दर्ताको लागि चितवन पुगेका शर्माले लामिछानेको प्रवित्तिको आलोचना गरेका हुन् । चितवनमा आयोजना भएको आमसभामा बोल्दै शर्माले यस्तो बताएका हुन् ।
‘‘यो देशको लोकतन्त्रमा राजनीतिक दलको मात्र होइन, मिडियाले पनि उत्तिकै योगदान गरेका छन् । लोकतन्त्रका लागि रगत बगाएका छन् । सहादत दिएका छन्, संघर्ष गरेका छन् । म पनि टेलिभिजनमा सामाजिक रूपान्तरणको कार्यक्रम ‘ऐना’ चलाएर आएको हुँ’, रवितर्फ संकेत गर्दै शर्माले भने, ‘टेलिभिजनमा हुन्जेल नेताजति सबै खराब, राजनीतिमा गएपछि मिडियाजति सबै खराब, १२ भाइ खराब भन्ने कुरा नैतिक हुन सक्दैन ।’
शर्माले चितवन कांग्रेसले जितनारायणलाई उम्मेदवार बनाएर न्याय गरेको भन्दै यो पटक कांग्रेसको जित हुने दाबी गरे । गठवन्धनको तर्फबाट उम्मेदवार बनेका जितनारायणले चितवनको सबैखाले विषय बुझेको र उनले जिते समग्र चितवनको मुहार फेरिने शर्माको भनाई रहेको छ ।