कैलाली। कैलालीमा एसईईका विद्यार्थी चढेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
भीमदत्त राजमार्गअन्तरगत चुरे गाउँपालिकाको फल्टुडेमा सुदुरपश्चिम प्रदेश ०१००१ ज १४२३ को जिप दुर्घटना हुँदा चुरे गाउँपालिका- ६ बस्ने १८ वर्षीय भानु ठकुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका ठगुन्नालाई उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।
उनी अत्तरियाको दुर्गालक्ष्मी माध्यमिक विद्यालय केन्द्रमा एसईई परीक्षा दिएर घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् । जिपमा सवार चुुरेकै १६ वर्षीय प्रकाश धामी, १७ वर्षीय हरिश धामी र १८ वर्षीया सरस्वती धामी पनि घाइते भएका छन् ।
उनीहरुको अत्तरियाको पद्यमा अस्पतालमा उपचार भइरहेको छ । उनीहरु पनि एसईई दिइएर घर फर्किरहेका थिए ।