२०८३ वैशाख ७ , सोमबार

चितवनका जनताले रविजी लाई जिताउँदैनन् : महेश बस्नेत



महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले निर्वाचन हार्ने दावी गरेका छन् । चितवन २ का जनताले लामिछानेको नक्कली राष्ट्रवाद र अवसरवाद बुझेकाले उनलाई निर्वाचनमा हराउने नेता बस्नेतको जिकिर थियो ।

 

शनिबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले लामिछानेले मयुरको प्वाँख धारण गरेर जनतालाई झुक्याउने काम गरेको र चितवनका जनताले त्यो कुरा बुझिसकेको बताए । नेता बस्नेतले युवा र लोकप्रिय भएकाले सो निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवार रामप्रसाद न्यौपानेले चुनाव जित्ने सम्भावना बढि रहेको बताए ।

 

सो चुनावमा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुने उनको बुझाइ थियो । ‘चितवन २ का जनताले यो नक्कली राष्ट्रवाद, यो अवसरवादी चरित्र, यो पब्लिक कम्जवसन्शनका लागि गरिने कुराहरुबाट चितवन २ मुक्त गराउने छन् ।

 

त्यहाँ नेकपा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुुन्छ । र, रविजी त्यसलाई पछ्याउनु हुन्छ’ बस्नेतले भने, ‘सम्भवतः हिजो कृष्णभक्त पोखरेलले राम्रो काम गरेको हुनाले र आज रामप्रसाद न्यौपाने एउटा नयाँ युवाहरुको बीचमा पपुलर व्यक्ति हुनुहुन्छ ।

 

उनको सम्भावना निकै बलियो छ । त्यसैले चितवनका जनताले रविजीलाई जिताउँदैनन् ।’ नेता बस्नेतले सरकारको काम कारबाही देश र जनताको हितमा नरहेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

प्रकाशित मिति : २०८० वैशाख २ गते शनिबार