२०८३ वैशाख ७ , सोमबार

घुस खाएको सपना देख्नेलाई पनि घण्टा गनेर कारबाही गर्छौं : रवि लामिछाने



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घुस खाएको सपना देख्नेलाई समेत कारबाही गर्ने बताएका छन् । वैशाख १० मा हुने उपनिर्वाचनमा चितवन २ बाट उम्मेदवार बनेका लाछिमानेले शनिबार भरतपुर ४ धर्मचोकमा आयोजित चुनावी सभामा बोल्दै यस्तो बताएका हुन् ।

लामिछानेले भने, ‘हामी घुस खाएको प्रमाणित त छोडिदिनुस्, घुस खाने कुरा सपनामा सोच्यो भने पनि कारबाही गर्छौँ ।’ इमानदार मान्छेलाई पार्टीमा स्वागत गर्न तयार रहेको भन्दै उनले इमानदार नभए घण्टा गनेर कारबाही हुने बताए ।

 

उनले अहिले आफूले जित्ने परिस्थिती देखेर अत्तालिएका दलहरु सबै मिलेर आफ्नो पार्टीमाथि खनिएको आरोप लगाए । ‘हामी निर्वाचनमा आउनुभन्दा पहिला एउटा पार्टीले अर्को पार्टीलाई गाली गर्थे, एउटा पार्टीको नेताले अर्को पार्टीको नेताको खिल्ली उडाउँथ्यो।

 

अहिले सबै मिलेर हामीलाई गाली गरिरहेका छन् । पाइला पाइलामा अवरोध खडा गरिरहेका छन्। मुद्दामाथि मुद्दा हालिरहेका छन्।’ उनले भने, ‘झटारो जुन रुखमा हानिन्छ त्यो रुख लटरम्म फलेको हुन्छ । स्वतन्त्र पार्टी त्यस्तै रुख हो ।’

प्रकाशित मिति : २०८० वैशाख २ गते शनिबार