रोल्पा । रोल्पामा एक जना वडाध्यक्ष पेस्तोलसहित पक्राउ परेका छन् । आइतबार दिउँसो १ बजेतिर गंगादेव गाउँपालिका–४ का वडाध्यक्ष ३३ वर्षीय कृष्ण वली अटोमेटिक पेस्तोलसहित पक्राउ परेका हुन् । वडाध्यक्षले आफ्नो घरमा अवैध हतियार लुकाएको भन्ने गोप्य सूचनाका आधारमा खानतलासी गर्दा उनको घरको माथिल्लो तलामा लुकाएर राखेको अवस्थामा स्वचालित पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक श्यामकुमार सारू मगरले जानकारी दिए ।
‘मेड इन इटाली’ लेखिएको नौ राउन्ड गोली लाग्ने एक थान पेस्तोल म्यागजिनसहित बरामद भएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका वलीविरूद्ध हातहतियार तथा खरखजना मुद्दा चलाइएको प्रहरीले जनाएको छ । जिल्ला अदालत रोल्पाले वडाध्यक्ष वलीलाई थप १४ दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद थप गरिदिएको डिएसपी मगरले बताए ।
वडाध्यक्ष वलीविरूद्ध चैत ३० गते बेलुका ४ बजेको समयमा गंगादेव गाउँपालिकाका अध्यक्षले चढ्ने रा १ झ १९१ नम्बरको सरकारी गाडी तोडफोड गरेको अभियोग पनि छ । उक्त अभियोगमा जिल्ला प्रशासन कार्यालयले उनीविरूद्ध थप १५ दिन म्याद थप गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरूद्धको कसुर (अभद्र) व्यवहार सम्बन्धी मुद्दामा पनि अनुसन्धान भइरहेको डिएसपी मगरले जानकारी दिएका छन् ।