चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी र पार्टी सभापति रवि लामिछानेविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन कार्यालयमा उजुरी परेको छ ।
चितवन क्षेत्र नम्वर २ को उपनिर्वाचनका क्रममा स्वतन्त्र पार्टी र पार्टी सभापति लामिछानेले कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि धुवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् ।
मतदान भइरहेको बेलामा रास्वपा सभापति लामिछानेले सामाजिक सञ्जाल र अनलाइनबाट मत मागेको, लामिछानेले मतदान केन्द्रमा हुलहुज्जत गर्ने गराउने गरी मतदातालाई प्रभावित बनाएको दाबी उजुरीमा गरिएको छ ।
किरण मावि भोजाड मतदान केन्द्रमा विवाद पछि रास्वपाका प्रतिनिधिसहित बसेको सर्वदलीय बैठकले रास्वपाले आचारसंहिता उल्लंघन गरेको स्वीकार गर्दै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेका पनि उजुरीमा स्मरण गराइएको छ ।
उजुरीमा चितवनका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रशासन कार्यालयको ठाडो आदेशमा एक पक्षीय रुपमा मतदाता र मतदान प्रतनिधिमाथि लाठी चार्ज गरेको र मतदातालाई भयभीत पारिएको भन्दै कारबाहीको माग गरिएको छ ।