दाङ । रोल्पामा जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । आइतवार बेलुकी करिब ६ बजेको समयमा तुलसीपुरबाट रोल्पाको गंगादेव– ६ राँकको ताप्लाका लागि छुटेको लु १ ज ४७५५ नम्बरको जिप गंगादेव गाउँपालिका–२ हेमुनखोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा स्थानीय १५ वर्षका विद्यार्थी तिलक वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी श्यामकुमार सारू मगरले जानकारी दिए । दुर्घटनामा अन्य ८ जना घाइते छन् । जसमध्ये ४ जनाको अवस्था मध्यम रहेको र अन्य ४ जनाको अवस्था सामान्य रहेको डिएसपी मगरले बताए ।
मध्यम घाइते ४ जनालाई उद्धर गरि तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा पठाएको छ भने चालकसहित बाँकी ४ जनाको नजिकैको स्वास्थ चौकीमा उपचार भइरहेको छ । प्रहरीका अनुसार गाडीमा ९ जना सवार थिए । गाडी सडकबाट करिब २ सय फिट तल खसेको प्रहरीले जनाएको छ । चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।