
काठमाडौं । संखुवासभाको भोटखोला- ४ मा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए । हेलिकप्टरमा सवार चार जना गम्भीर घाइते भएको उनले बताए ।
आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ । मृतक गुरुङ हेलिकप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए ।
दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
प्रकाशित मिति : २०८० वैशाख २२ गते शुक्रबार