२०८३ वैशाख ७ , सोमबार

रुकुमपूर्वमा जीप दुर्घटना हुँदा नौ जना घाइते



रुकुमपूर्व । भूमे गाउँपालिका–८ सिमखोलामा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । आइतबार बिहान करिब ९ बजेको समयमा भूमे–९ चुनबाङबाट जिल्ला सदरमुकाम रुकुमकोट आउँदै गरेको लु १ ज ३५०३ नम्बरको जीप सिमखोलामा दुर्घटना हुँदा ९ जना घाइते भएका हुन् ।

घाइते हुनेमा भूमे–८ का १७ वर्षीया चन्द्रकुमारी पुन, सोही वडाका २० वर्षीया लक्ष्मी बिक, १० वर्षीय भरत खड्का, भूमे–९ का १८ वर्षीया प्रमिला पुन मगर, १९ वर्षीया रिमा बुढा मगर, १९ वर्षीय गङ्गा बुढा, १९ वर्षीया नर्मिता पुन यसैगरी रोल्पा जिल्ला परिवर्तन गाउँपालिका–६ का २१ वर्षीय आभाष बुढा मगर र परिवर्तन–४ का १९ वर्षीय कमला रोका रहेको निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले जानकारी दिए ।

 

सबैको अवस्था मध्यम रहेको निमित्त प्रजिअ आचार्यले बताए । हाल घाइतेलाई रुकुमपूर्व अस्पताल रुकुमकोटमा उपचारत छन् । चालक, सहचालक र एक जना यात्रुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । जीप सडक देखि करिब ५ मिटर तल खसेको छ । जीपमा १२ जना सवार रहेका थिए ।

प्रकाशित मिति : २०८० वैशाख २४ गते आइतबार