२०८३ वैशाख ७ , सोमबार

डोल्पामा पुग्यो पहिलो पटक यात्रुवाहक बस



डोल्पा । हिमाली जिल्ला डोल्पामा पहिलो पटक यात्रुवाहक बस पुगेको छ । सोमबार बाँकेको नेपालगन्जबाट हिँडेको बस मंगलबार डोल्पा सदरमुकाम दुनै आइपुगेको हो ।

 

डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि पहिलो पटक भेरी राप्ती यातायात प्रा।लि र नमस्ते सगरमाथा यातायात प्रा।लिको १÷१ वटा बस डोल्पा आइपुगेको जिल्ला प्रशासन कार्यालयले डोल्पाले जनाएको छ ।

 

वि.स २०७६ सालमा राष्ट्रिय सडक सञ्जालमा जोडिएयता डोल्पामा जिपले मात्रै यात्रु ओसारपसार गर्दै आइरहेको छ । केही महिनायता डोल्पा जाजरकोट सडकखण्ड अन्तर्गत डोल्पाको भेरी नदीमा बेलिब्रिज बनेसँगै डोल्पामा बस पुगेको हो ।

 

डोल्पा जाजरकोट सडकखण्ड अन्तर्गत तल्लुबगर, मुलातार, दामाचौरसहित अन्य खोलामा पुल छिट्टै बने डोल्पा–नेपालगञ्ज सहजै यात्रा गर्न सकिने डोल्पाबासीको भनाइ छ ।

 

सहजै बस नपुग्दा डोल्पाबासी चर्को भाडा तिरेर जिपको यात्रा गर्न बाध्य छन् । बस पुगेसँगै अब डोल्पामा जिप व्यवसायीहरुको सिण्डिकेट अन्त्य हुने देखिएको छ ।

प्रकाशित मिति : २०८० वैशाख २६ गते मंगलबार