
काठटमाडौँ । निर्माण कार्य गुणस्तरीय हुनुपर्ने माग सम्बोधन नगरेको भन्दै हाइटेन्सन लाइन प्रसारण भएको पोलमा चढेका मोरङ बुढीगंगाका युवा दिनेशकुमार माझी ११ घण्टापछि पोलबाट ओर्लिएका छन् । ‘रिटेनिङ वाल’ निर्माणको काम गुणस्तरीय नभएकाले काम रोक्नु पर्ने माग राख्दै टावरमा चढेका माझीको शनिवार साँझ उद्धार गरिएको हो ।
मोरङको बुढीगंगा गाउँपालिका–७ का ४० माझी शनिवार बिहान प्रहरी र वडाका जनप्रतिनिधिलाई फोन गरेर प्रसारण लाइनको टावरमा चढेका थिए । उनी करिब १२ घण्टा केही नखाई टावरमा बसेका थिए ।
गाउँपालिकाका अध्यक्ष जितनारायण मगरलगायतको टोली पुगेर निर्माण कार्य रोक्ने र गुणस्तरीय काम गराउने प्रतिबद्धता जनाए पछि उनी टावरबाट तल झर्न सहमत भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता रञ्जनकुमार दाहालले जानकारी दिए ।
उनलाई टावरबाट तल झार्नका लागि दिनभर निकै प्रयास भएका थिए । तर उनले गाउँपालिका अध्यक्ष आएर मागको सम्बोधन नगरेसम्म नझर्ने अडान लिएका थिए । साथै उनले माग बेवास्ता गरे आत्मदाह गर्ने चेतावनीसमेत दिएका थिए ।
बुढीगंगा–७ वडा कार्यालयदेखि दक्षिण जाने सडकमा ‘रिटेनिङ वाल’ निर्माणको काममा उपभोक्ता समिति बनाउँदा नक्कली हस्ताक्षर गराएर आफन्तलाई राखेको स्थानीयको आरोप छ ।