गाउँ गाउँबाट उठ
बस्ती बस्तीबाट उठ….?
काठमाडौँ । आज नेपाल टेलिकमको सिम भएको कसैको मोबाइलमा फोन गर्नुभयो भने यो गीतको ‘रिङ टोन’ बज्छ। जेठ १५ गते बिहानैबाट यो ‘रिङ टोन’ बजिरहेको छ।
सामान्यतः ‘रिङ टोन’ मोबाइल प्रयोगकर्ताको रोजाइमा छानिन्छ। तर, कुनै पर्व, उत्सव वा सरकारले चलाएका विभिन्न अभियानका वेला भने सरकारले नै प्रयोगकर्ताको मोबाइलमा रिङ टोन ‘फिक्स’ गरिदिने गरेको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारी बताउँछन्।
अधिकारीका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आग्रहमा टेलिकमले गणतन्त्र दिवसको उपलक्ष्यमा एनटीसीको फोन प्रयोगकर्ताको रिङ टोन राखिएको हो। “मन्त्रालयले पत्राचार गरेपछि आज दिनभर टेलिकमका फोनमा ‘गाउँ गाउँबाट उठ।।।’ रिङ टोन बज्छ,” अधिकारीले भने।
राज्यका निकायको आग्रहमा राखिने यस्ता रिङ टोनबाट टेलिकमलाई आम्दानी भने नहुने पनि उनले जानकारी दिए। “सरकारी निकायले बजाएका यस्ता प्रचारमूलक, सन्देशमूलक धुनको पैसा तिराउने गरिएको छैन,” अधिकारीले भने।
आज १६औं गणतन्त्र दिवस देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ। यो अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। हिमालखबर