
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सभापतिमा रहेर काम गर्ने कार्यकाल यहि नै अन्तिम रहेको बताएका छन् । शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रममा उनले आफ्नो सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको भन्दै अब युवा पुस्ताकै पालो भएको बताएका हुन् ।
उनले आफूले नेपाली कांग्रेसलाई अहिले देशको ठूलो पार्टी बनाएको भन्दै आफूले सहयोग मात्रै गर्ने बताए । उनले कसैको विरोध गरेर पार्टी ठूलो नबन्ने बताए । उनले कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने बताउँदै सबैले काम गर्नुपर्ने बताए ।उनले पार्टीको लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको दाबी गरे ।
उनले पार्टी बलियो बनाउन नागरिकको काँधमा काँध मिलाइ जनसम्पर्क विस्तार गर्नुपर्ने बताए । उनले भने, ‘नेपाली कांग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूलो पार्टी भएको छ । सधैं हारेको नेविसङ्घ जितेको छ, सानो पार्टी ठूलो पार्टी भएको छ । अब यसलाई अघि बढाउनुछ । गाली गरेर केही हुनेवाला छैन । काम गर्नुस् न पार्टी ठूलो बनाउनुस्, बलियो बनाउनुस् । विरोध गरेर पार्टी बन्नेवाला छैन ।
गाली गरेर कहाँ पार्टी बन्छ । लडाइँ गर्ने हो रु अफ्ठ्यारोमा गयो भने के गर्ने । अहिले पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठूलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन । एक जनालाई गाली गरेर पार्टी बलियो हुँदैन । सबै एक भएर गए पार्टी बलियो हुन्छ ।’ सभापति देउवाले सबै एकजुट भएर लागेमात्रै पार्टीलाई बलियो बनउन सकिने बताए ।