काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री तथा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अर्कालाई औँला ठड्याएर पार्टीमा रुपान्तरण सम्भव नरहेको बताएका छन् ।
सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको सातौँ महाधिवेशनलाई सम्बोधन गर्दै पार्टीका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै उनले कसैप्रति औँला ठड्याएर परिवर्तन र रुपान्तरण सम्भव नरहेको जिकिर गरे ।
आफ्ना कमजोरी र गल्तीहरू सच्याएर अघि बढ्नसके मात्रै रुपान्तरण सम्भव छ,” उनले भने । पार्टी र सरकारलाई जीवित बनाउने काम केन्द्रदेखि वडा तहका नेताहरूको रहेको उनको भनाइ छ ।
उनले पार्टीको अहिलेको परिस्थितिलाई सुधारेर र सपारेर मात्रै तीव्र गतिमा समय सापेक्ष दिशातर्फ जान सकिने बताए । पार्टीमा सबैले निष्ठाको संकल्पसहित आफूलाई समर्पित गर्ने बेला आएको उल्लेख गरे । कार्यवाहक सभापति खड्काले पार्टीमा पनि समयसापेक्ष बदलाव आउने बताए ।