
सुर्खेत ९ माघ
विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको साधारण सदस्यबाट समेत हटाईने घोषणा गरेका छन् ।
बिहीबार जिल्ला कमिटी सुर्खेतले आयोजना गरेको आफु पक्षीय सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई साधारण सदस्य नै नरहने गरी पार्टीबाट निष्काशन गर्ने बताएका हुन् ।
‘हामीले तीन दिनको समय दिएर स्पष्टीकरण मागेका थियौँ, चार दिन बित्दा पनि उनले जवाफ दिएनन्, उनमा जवाफ दिने हिम्मत नै छैन’, अध्यक्ष नेपालले भने, ‘हामी उनलाई साधारण सदस्यबाट हटाउने अन्तिम चरणमा छौँ, उनलाई आजैका मितिबाट साधारण सदस्यबाट निष्कासन गछौँ।’
गत माघ २ मा बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठकले ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार गत माघ ५ मा प्रचण्ड–नेपाल पक्षले ओलीलाई स्पष्टीकरण पत्र पठाएको थियो । तीन दिनको अवधि राखेर सोधिएको स्पष्टीकरण पत्रबारे ओलीले जवाफ दिएका छैनन् ।
नेपालले प्रधानमन्त्री ओलीको संसद विघटनको पक्षमा कुनै पनि राम्रो मान्छे नउभिएको बताए। उनले प्रतिनिधि सभा विघटन गरेर ओलीले पार्टीकै बदनाम गरेको र आफू पनि कलंकित भएको बताए।
‘असल मान्छेलाई सोध्नु, आन्दोलनमा लागेका यौद्धालाई सोध्नु केपी ओली कुलंगार हुन पुगे। पार्टीको कलंकित व्यक्ति भए, संविधान कुच्चिए’, उनले आक्रोशित हुँदै भने।
कार्यक्रममा उक्त समूहका नेता जनार्दन शर्मा, शक्तिवहादुर वस्नेत लगायतले संवोधन गरेका थिए।