२०८३ जेठ २० , बुधबार

एसइईको नतिजा असार १८ गतेभित्रै निकाल्ने तयारी छौ : परीक्षा बोर्ड

३५ अंकभन्दा कम ल्याउनेको ग्रेडिङबारे छलफल हुँदै


राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले वर्ष २०७९ को एसइई परीक्षाको नतिजा असार १८ गतेभित्र निकाल्ने तयारी गरेको छ । नतिजाका लागि अन्तिम तयारी भइरहेको बोर्डले जनाएको छ । कार्यालयका डेपुटी कन्ट्रोलर भक्त गोदारका अनुसार विद्यार्थीको प्राप्ताङ्क इन्ट्रीको काम सकिएको छ भने अहिले अन्तिम चरणमा अङ्क पुनर्जाँचको काम भइरहेको छ ।

यस पटकको एसइईमा नयाँ ग्रेडिङ प्रणाली लागु हुने वा नहुनेबारे निर्णय हुन बाँकी रहेको गोदारले बताए । सरकारले गत वर्षको एसइई नतिजामा नै लागु गर्ने गरी ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ तयार पारेको थियो । निर्देशिकाअनुसार सैद्धान्तिकतर्फ ३५ भन्दा कम अङ्क ल्याउने विद्यार्थीको नतिजामा अवर्गीकृत (नन ग्रेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था छ ।

तर, गत वर्ष कोरोना महामारीको असरका कारण पठनपाठन सहज नभएको र विद्यार्थीमा मार पर्ने भन्दै बोर्डले पुरानै ग्रेडिङ प्रणालीअनुसार नतिजा निकालेको थियो । यो वर्ष भने के गर्ने भन्नेबारे बोर्डमा छलफल चलिरहेको गोदारले बताए । २०७९ चैत १७ गतेदेखि भएको एसइईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए ।

प्रकाशित मिति : २०८० असार १० गते आइतबार