२०८३ वैशाख ८ , मंगलबार

योगेश भट्टराईलाई कालो झन्डा देखाइएपछि….



काठमाडौं । पार्टीका सचिव योगेश भट्टराईलाई इलाममा कालो झन्डा देखाइएपछि नेकपा एमालेले ‘अभद्र व्यवहार’प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एमाले प्रचार विभागका सचिव गगन विष्टले एक विज्ञप्ति जारी गर्दै सचिव भट्टराईमाथि उच्छृङ्खल व्यक्तिहरूको समूहले गरेको अभद्र व्यवहारप्रति पार्टीले निन्दा र भर्त्सना गर्ने बताएका छन् ।

कोसीमा संविधान र कानुनी व्यवस्थाअनुसार प्रदेश सभाको दुई तिहाइ बहुमतले कोसी नामकरण गरेको उल्लेख गर्दै नाममा असहमति राख्नेले केही दिनदेखि नै एमालेका नेताहरूलाई आक्रमणको प्रयास भएको विज्ञप्तिमा उल्लेख छ ।

‘प्रदेश सभाबाट गरिएको कोसी प्रदेश नामकरणको निर्णय हिंसात्मक गतिविधिबाट परिवर्तन हुन सक्दैन भन्नेतर्फ उक्त समूहलाई हाम्रो पार्टी गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ । साथै, हिंसात्मक गतिविधि नियन्त्रणमा देखिएको सरकारको उदासिनताप्रति गम्भीर आपत्ति प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २०८० असार १४ गते बिहीबार