२०८३ जेठ २० , बुधबार

ओली पक्षीय नेकपाको सुर्खेत जिल्ला भेला सम्पन्न



सुर्खेत १७, सुर्खेत

प्रधानमन्त्री केपी ओली पक्षीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटीको आयोजनामा शनिबार गरिएको भेला वीरेन्द्रनगरमा सम्पन्न भएको छ।

करिब ३ हजारको संख्यामा रहेका नेकपा सुर्खेतका कार्यकर्ताहरु मध्ये पूर्व एमाले निकटका करिब ९५ प्रतिशत कार्यकर्ता भेलामा सहभागी भएको नेकपा सुर्खेत जिल्ला कमिटी सदस्य हरिप्रसाद अधिकारीले दावी गरे।
भेलालाई संवोधन गर्दै नेकपा स्थायी कमिटी सदस्य एवं खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापाले देशको विकास गर्न कम्युनिस्ट नेताहरुले विभिन्न विकासे मोडेलहरुको विकास गरेको भन्दै केपी ओलीले अख्तियार गरेको मोडेलले छिट्टै समाजवादमा पुग्न सकिने धारणा राखे।

मन्त्री थापाले कम्युनिस्टहरुलाई जनताले समाजवादमा पुग्नको भोट दिएको भन्दै समाजमा रहेका निमुखाहरुको हितमा पार्टी लाग्नु पर्ने वताए । जनयुद्ध र जनआन्दोलनवाट सामन्ती संस्थाको पर्याय वनेको राजसंस्थाको अन्त गरेको दावी गरे। उनले पूर्व एमाले र पूर्व माओवादी एक्लाएक्लै हिडेर समाजवादमा पुग्न नसकिने भएकोले समाजवादमा पुग्न पार्टी एकता गरिएको धारणा राखे।

उक्त कार्यक्रममा भनाइ राख्दै नेकपाका प्रदेश सह-ईन्चार्ज यमलाल कडेलले पार्टी एकता गर्दा सहमतिमा जाने भन्ने कुरालाई छोडि वहुमत र अल्पमतमा जाने गलत अभ्यास सुरु गरेकोले पार्टी विभाजनको अवस्थामा पुगेको वताए । दुई वर्षसम्म सहमतिमा हिडेको पार्टीलाई एक्कासि वहुमतिय पद्धतिमा लैजान खोज्दा दुर्घटना भएको वताए ।

आफुले कसैलाई काखा र पाखा नगर्ने भन्दै पार्टीमा समान अवसर दिने प्रतिवद्दता जनाए । उनले आफ्नो टिम मजवुत भएको भन्दै २०२२ सालमा कम्युनिस्ट पार्टीको संगठित सदस्य लिएका हस्त पुनको उदाहरण दिदै भने, ‘कोही नआत्तिनुस, समयलाई पर्खेर पार्टीको अभियानमा लाग्नुस।’

सुर्खेत जिल्लाका ९ वटै पालिकाका पूर्व एमाले निकटका अधिकांश कार्यकर्ताहरु भेलामा उपस्थित भएका छन् भने पूर्व माओवादी निकटका कार्यकर्ताहरु समेत भेलामा उपस्थित छन।
भेलामा नेकपाका कर्णाली प्रदेश अध्यक्ष गोरख वोगटी, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत, कर्णाली प्रदेश सभा सदस्य ठम्मरवहादुर विष्ट, धर्मराज रेग्मी, वीरेन्द्रनगर पालिकाका उप मेयर मोहोनमाया ढकाल, जिल्ला कमिटी सदस्य डण्डीप्रसाद शर्मा, चलचित्र विकास वोर्डका पूर्व अध्यक्ष गणेश भण्डारी लगायतले संवोधन गरेका थिए।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य वालाराम शर्मा, वालकृष्ण विसी, कृष्णवहादुर हमाल, कुलमणि देवकोटा, कमल शाही, पूर्व सभाषद सहिद ऋषि शर्मा पत्नी कमला शर्मा, प्रदेश सभा सदस्य खड्क खत्री, राजु नेपाली, लेकवेशी नगरपालिकावाट पूर्व माओवादी तर्फबाट मेयरका उम्मेदवार रहेका खड्गबहादुर घर्ती चौकुने गाउँ कार्यसमितिका सचिव हरिप्रसाद अधिकारी, जिल्ला कमिटी सदस्य चन्द्रलाल पौडेल (सोफान),ऋषि गिरी, ताराप्रसाद गौतम, धनवहादुर रावत, टिकाराम शर्मा,लगायत विगतमा नेकपा पार्टी जिम्मेवारीमा रहेका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

जिल्ला कमिटीका वरिष्ठ सदस्य डिलाराम गिरीको अध्यक्षतामा भएको उक्त भेलाको संचालन जिल्ला कमिटी सदस्य टेकेन्द्र वस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०७७ माघ १७ गते शनिबार